Wed, 13 Nov, 2019


समाज र साहित्यः सिक्काका दुई पाटा
श्रवण मुकारुङ
फरकधार / पुस १४, २०७५

कला साहित्य भनेको रक्तविजजस्तो हो, जुन विस्तारै सर्दैसर्दै जान्छ । तर, सरेको देखिँदैन । बिस्तारै समाज परिवर्तन भइरहेको हुन्छ । तर, त्यो परिवर्तन आँखाले सजिलै देख्न सकिँदैन ।



हामीले बुद्धवाणीले लेखेको ठेली नै पढेर सिकेका होइनौं । अरू कसैले लेखेको पढेर–सुनेर सिकेका हौं । गीता, कुरान, वेद, उपनिषदलगायतका जति पनि धर्मग्रन्थ छन्, तिनीहरू सबै साहित्य नै हुन् । समाजमा तिनीहरूको प्रभाव अहिले हामी प्रत्यक्ष देख्न सक्छौं । 

कला–साहित्यको प्रभाव डरलाग्दो किसिमले पर्छ । मानव सभ्यतालाई अग्रगति दिनका लागि यी पक्षहरूको भूमिका धेरै हुन्छ । हाम्रा धर्मग्रन्थले हामीलाई अनुशासनमा बाँधेको देख्न सक्छौं । साहित्य र कलाको प्रभाव कसरी पर्छ भन्ने यहाँ देख्न सकिन्छ ।

हाम्रो समाज, देश र संसारभर सबैतिर कला, साहित्य र संगीतले प्रभाव पार्ने कारणले नै यी पक्षहरूको इज्जत गरिएको हो । यी पक्षहरूले प्रभाव नपार्ने भए, कवि, गीतकार, कलाकारलाई मान्नुपर्ने कारण नै छैन । उनीहरूको सिर्जनाले समाजमा प्रभाव पार्ने भएकाले नै उनीहरूलाई सम्मानपूर्वक हेरिन्छ । 

समाज परिवर्तनमा कुनै राजनेताको भन्दा कम भूमिका सहित्य–कलाको हुँदैन । बरु, एउटा राजनेताको विचारको प्रभाव सधैं रहन नसक्ला, तर साहित्य–कलाले पारेको प्रभाव सधैं रहन्छ, दीर्घगामी प्रभाव कामय गर्छ । एउटा सभ्यताको समयमा परेको साहित्यको प्रभाव अर्को सभ्यतासम्म पनि कायम नै रहेका उदाहरण हाम्रै सामुन्ने छन् । 

समाजलाई कला–साहित्यले परिवर्तन गरेको कुरा देखिने विषय होइन । त्यो अनुभूत गर्ने कुरा हो । २०६२÷६३ सालको जनआन्दोलनको समयमा प्रकाशित भएको मेरै कविता ‘बिसे नगर्चीको बयान’लाई उदाहरण मान्न सक्छौं । कविताले कस्तो भुमिका खेल्यो भन्ने सबैलाई जगजाहेर नै छ । 

पत्रपत्रिका तथा आन्दोलनकारीले राजतन्त्रको विरोध गर्नलाई भाषा पाएका थिएनन् । उनीहरूले कवितालाई राखेर विरोध गर्न थाले । मैले पनि धेरै ठाउँमा कविता सुनाएँ । पछि राजतन्त्र पनि गयो । रचनाको ठूलो मात्रामा भूमिका नरहे पनि केही हदसम्म त्यसले पनि भूमिका खेलेको थियो । रचनाको शक्ति त्यहाँ देखियो । 

हामीले सानैदेखि देवकोटाका पंक्ति ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ पढ्दै आयौं । सानैदेखिको मस्तिष्कमा हामीलाई ती पंक्तिहरूको प्रभाव पर्न थाल्यो । जसकारण हामीमा जातभात, विभेद गर्नु हुँदैन भन्ने चेतनाको विकास हुँदै आयो । मान्छे–मान्छेबीचमा विभेद गर्नु हुँदैन भन्ने चेतनाको विकास हामीमा हुँदै आयो । 

हामीभन्दा अघिल्लो पुस्ता, जसले पढन पाएनन्, उनीहरूमा यो चेतनाको विकास हुन पाएन । जसकारण त्यो समयमा विभेद जस्ताको त्यस्तै रहेको थियो । तर, जब ती पंक्तिहरू पढिन थाले, ती पंक्तिहरूको चर्चा भयो, मान्छेमा चेतनाको विकास भयो । छुवाछूत, विभेदजस्ता जातभातका कुरा गरिनु हुन्न भन्ने विचार उनीहरूमा पर्दै गयो । 

‘साहित्य–कलाले समाज परिवर्तन ढिलो गर्छ, त्योभन्दा सजिलो समाजलाई परिवर्तन गर्न बन्दुक बोक्नुपर्छ’ भन्ने कुरा पनि सुनिन्छन् । तर, त्यस्ता कुरा भनेका अबुझ कुरा मात्र हुन् । सहित्यमा लागेकाले त्यस्तो कुरा गर्छन् भने उनीहरू साहित्यकार नभएर साहित्यका अनुयायी मात्र हुन्, भर्खर साहित्यमा आएका अनुयायी । साहित्यले समाज परिवर्तन गर्छ भन्ने विश्वास नगर्नेहरुलाई कदापि साहित्यकार भनिँदैन । 

कहिलेकाहीँ लेखक–साहित्यकारले लेख्दालेख्दै पनि कतिपय ठाउँमा दोहोरो अर्थ राख्ने विषय लेखिन्छन् । लेखक–साहित्यकारहरू चुकेका हुन्छन् । त्यस्तो बेला स्रष्टाले देखाउन खोजेको भन्दा फरक पक्षलाई पाठकले देख्छन् । उनीहरूले लेखेका विषयलाई लिएर विभिन्न विवाद पनि हुन्छन् । तर, हामीले ती विषयमा विवाद गर्नु अगाडि लेखक–साहित्यकार पनि मानिस हो भन्ने भुल्नु हुँदैन । 

स्रष्टा पनि मानिस नै हो । उसमा पनि कमी–कमजोरी हुन्छ । उसले लेखेका हरेक विषयले समाज परिवर्तनको समथ्र्य राख्छ भन्ने पनि हुँदैन । भानुभक्तले लेखेको ‘बधुशिक्षा’माथि अहिले पनि विवाद हुन्छ । प्रश्नहरू उठछन् उनको रचनामाथि । तर, उनले लेखेका अन्य विषयलाई हेर्ने हो भने तिनीहरूले हाम्रो समाजलाई निकै ठूलो योगदान गरेको देख्न सकिन्छ । एकातिर उनका रचना÷सिर्जनाको प्रशंसा पनि हुन्छ भने अर्कातिर आलोचना पनि हुन्छ । 

स्रष्टाले लेखेका कतिपय विषय गलत भइदिए ती आलोच्य बनिदिन्छन् । तर, त्यस्ता विषय र रचनालाई भुल्दै पनि जान्छन् । र योगदान योग्य रचनालाई भने पाठनले सम्झिरहन्छन् । यस्ता रचना, जसले केही मात्रामा भए पनि समाजप्रतिको जिम्मेवारीलाई बोध गरेको हुन्छ, त्यसको चर्चा–परिचर्चा लामो कालसम्म रहिरहन्छ । 

‘स्रष्टा भगवान् हो, लेख्दा त्रुटि हुनु हुदैन’ भन्ने कुरा हुँदैन । सकेसम्म त्रुटिहीन रचना सिर्जना गर्नु साहित्यकारको जिम्मेवारी हो । तर, लेख्दालेख्दै कहिलेकाहीँ त्रुटि पनि हुन सक्छ । त्यस्ता पक्षलाई पनि ध्यान दिन जरुरी छ । 

समाजप्रति उत्तरदायी भएर लेख्ने र आफ्नो आत्मा र सुखानुभूतिका लागि लेख्ने साहित्यकार हुन्छन् । तर, कति सत्य हो भने दुवैथरीले लेखेका सिर्जना असल भए समाजले त्यसलाई ग्रहण गर्छ । त्यसको प्रभाव समाजप्रति देखिन्छ । तर, आफ्नो बोलीमा भने समाजका लागि, देशका लागि लेख्छु भनेर लेखाइमा कुनै तुक नभेटिने साहित्यकार पनि छन् । सबै कुराको सार के हो भने जसले जसरी जुन चिन्तनमा लेखे पनि उसले लेखेको सिर्जनालाई समाजले सकारात्मक र नकारात्मक दुवै पक्षबाट लिइरहेको हुन्छ । सिर्जनाको असर समाजमा प्रत्यक्ष रूपमा प्रतिबिम्बित हुन्छ । 

सकरात्मक प्रभाव पार्ने सिर्जनाले समाजलाई एक पक्षबाट राम्रो रूपान्तरण तर्फ डोर्याइरहेको हुन्छ । नकारात्मक असर गर्ने साहित्यले कता डोर्याउँछ भन्ने अर्को पक्षको विषय हो ।

प्लेटो र अरस्तुबीचमा भएको  साहित्यिक विवादलाई हेर्दा पनि साहित्य कस्तो र किन लेखिनुपर्छ भन्ने बुझ्न सकिन्छ । प्लेटोले आफ्नो समयमा लेखिएका साहित्यको मूल्यांकन गरेर साहित्य चाहिँदैन भनेका थिए । उनले साहित्यकारलाई देशनिकाला गर्नुपर्छ सम्म भने । उनको समयमा सिर्जना भएको साहित्य रूढिवादी, समाजलाई अगाडि लान प्रेरित नगर्ने देखेर उनले साहित्यको कुनै काम छैन भनेका थिए । 

तर, उनकै शिष्य अरस्तुले भने उनको विचारलाई खण्डन गरेका थिए । साहित्यले समाजलाई अगाडि लैजान, समाजका सबै पक्षलाई देखाउन सक्छ भन्ने विचार राखेका थिए । उनले साहित्यको पक्षमा आफ्नो मत राखे किनभने उनले बुझेका थिए, साहित्यको नाममा लेखेका सबै साहित्य हुँदैनन् । 

नेपालका हरेक घरमा लेखक–कवि भेटिन्छन् । तर, एउटा देवकोटा जन्मिन युग पर्खिनुपर्छ । मुखुण्डोधारी कवि, लेखक, साहित्यकार जताततै भेटिन्छन्, तर असल साहित्यकार भेट्न लामो समय प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

आफ्नो सिर्जनालाई कसरी समाजप्रति जिम्मेवार भएर लेख्ने भन्ने अर्को परीक्षा हो । साहित्यलाई ऐछिक रूपमा लेख्नेहरूले त्यो गर्न सक्दैनन् । नेपाली साहित्यमा पनि ऐच्छिक रूपमा साहित्य लेख्नेहरूले हानि पुर्याएका छन् । उनीहरूको लेखनको गलत प्रभाव समाजमा परेको हुन्छ । 

उदाहरणका लागि हामी अहिलेकै समाजलाई हेर्न सक्छौं । कुनै धनी मान्छेले समाजमा आफ्नो अर्को परिचय बनाउन साहित्यलाई अँगाल्ने गरेको हामीले देखेका छौं । साहित्यको अर्थ थाहा नपाए पनि उनीहरू पैसा खर्च गरेर साहित्यकारको उपमा बनाउन सक्ने हैसियत राख्छन् ।  

साहित्य क्षेत्रमा लागेकालाई किनेर आफ्नो रचना मिलाउन लगाउनेबित्तिकै ऊ ठूलो कविको रूपमा परिचित भइदिन्छ । ठूला व्यापारी, सरकारी जागिरे, जग्गा दलालहरू अहिले त्यसरी नै साहित्यकार तथा कवि बनेर आइरहेका छन् । उनीहरूमा साहित्यको ‘सा’ सम्मको ज्ञान हुँदैन । 

साहित्य भनेको समर्पण भावले लाग्ने विषय हो । पहिलेका ऋषिमुनिले तपस्या गरेको जस्तो साधना, अभ्यासबाट सिर्जना हुन्छ साहित्य । बुद्धत्व पाएको जस्तो हो साहित्य । लामो समय साधना गरेर मात्र साहित्य सिर्जना हुन्छ । तर, अहिले जसले पनि साहित्य भनेर लेखिरहेका छन् । जसले गर्दा साहित्यको समाजप्रतिको प्रभाव नकारात्मक बन्दै गएको छ । 

एकजनाका कारण पूरा साहित्य क्षेत्रलाई नै नकारात्मक ठानिदिन्छन् पाठक । एउटा कविले कविता लेख्नु र मूर्तिकारले मूर्ति बनाउनु उस्तैउस्तै हो । ससाना विषयलाई ध्यान दिएर सिँगार्दै जानुपर्छ ।

अहिलेको नेपाली साहित्यलाई हेर्दा सामाजप्रतिको चेत भेटिन्छ । नयाँ पुस्ताका साहित्यकारलाई अध्ययनका लागि पनि पर्याप्त सामग्री विभिन्न माध्यममा उपलब्ध छन् । जसले गर्दा उनीहरूले कस्तो साहित्य सिर्जना गर्नु हुन्छ, कस्तो गर्नु हुँदैन भन्ने बुझ्न पाएका छन् । समाजप्रतिको जिम्मेवारीलाई उनीहरूले सजिलै बोध गर्न सक्ने माध्यम रहेको छ । 

तर, सबैमा त्यो चेत छैन । बिस्तारै बिस्तारै हूलबाट राम्रा कवि, साहित्यकार छानिएर आउँछन् । साहित्यकारको मुखुण्डो धारण गरेर लेख्नेहरू र वास्तवमै साहित्य लेख्नेहरू बिस्तारै बिस्तारै छुटिँदै जान्छन् । ‘फिल्टर’ भएर आएकाले सिर्जना गरेको साहित्यको प्रभाव समाजमा परि नै हाल्छ । 
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्