सुदूरपश्चिममा स्थानीय निर्वाचनको तयारी तीव्र, कति छन् मतदाता ?
कैलालीका ५२ मतदानस्थल अति संवेदनशील सूचीमा

सुदूरपश्चिममा आसन्न स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको तयारी तीव्र पारेका हुन् ।

प्रदेशका ८८ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी थालिएको छ । सुदूरपश्चिममा १ हजार १३५ मतदानस्थलमा २ हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाउने तयारी भइरहेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।

कैलालीको चुरे गाउँपालिकामा रहेको मतदान केन्द्रको अनुगमन गर्दै निर्वाचन कार्यालयलगायत सुरक्षा निकायको टोली

‘३० गते हुने निर्वाचनका लागि प्रदेशका सबै निर्वाचन कार्यालयले बिहीबार सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछौँ’, उनले भने, ‘अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्‍याउने काम भइरहेको छ ।’ मतदानस्थलको अनुगमनसमेत गरिएको उनले जानकारी दिए ।

प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र २ हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कुल ३ हजार ८४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र रहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाभरका ५२ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मतदान स्थलको सूचीमा राखेको छ ।  



कैलालीमा ५२ वटा मतदानस्थल अति संवेदनशील, संवेदनशील १ सय ३१ वटा र सामान्य ५३ वटा मतदान स्थलहरू निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

उनका अनुसार संवेदनशील निर्वाचन केन्द्रमा तीन म्यादीसहित आठदेखि नौ जना प्रहरी, अति संवेदनशील ठाउँमा पाँचजना प्रहरीसहितको टोली र सामान्यमा दुई प्रहरी र चारजना म्यादी प्रहरीको टोली रहनेछ । त्यस्तै,  सशस्त्र प्रहरीको हकमा डिएसपीको कमाण्डमा तीनवटा मोबाइल टोलीअन्तर्गत २७ जना रहनेछन् । प्रत्येक नगरपालिकामा पाँचदेखि तीन जनासम्मको स्टकिङ्ग फोर्स राखिएको जोशीले बताए । 



कैलालीमा २ लाख ५६ हजार १ सय ४ जना पुरुष, २ लाख ६९ हजार १० जना महिला र  ११ जना अन्य गरी कुल ५ लाख २५ हजार १२५ जना मतदाता रहेका छन् । जसमा ६४ हजार ५ सय ४७ जना नयाँ मतदाता रहेका छन् ।  

कञ्चनपुरमा पनि निर्वाचनको तयारी तीव्र भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले जानकारी दिए । ‘कञ्चनपुरमा पनि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ,’ उनले भने, ‘निर्वाचन सामग्री चार पालिकामा पुगाउने काम भएको छ भने बाँकीमा आजसम्म पुगाउँछौँ ।’

निर्वाचन आयोगको कार्यतालिकाअनुसार बाजुराको पनि सबै पालिकाको केन्द्रमा बिहीबार नै मतदान अधिकृतको कार्यालय स्थापना गर्ने तयारी छ । कार्यालय स्थापना भएसँगै निर्वाचन सामग्री र सुरक्षाकर्मीसमेत खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताए । 

‘बाजुराका ९ स्थानीय तहका निर्वाचन केन्द्रको अनुगमन सम्पन्न भएको छ,’ उनले भने, ‘हामीले निर्वाचन सामग्री खरिद गरिसकेर मतदान केन्द्रमा पुगाउँदै छौँ ।’ यसपाली सुदूरपश्चिममा ११ सय ३५ मतदान स्थल र २ हजार १ सय ३ वटा मतदान केन्द्र तोकिएका छन् । त्यस्तै, प्रदेशभरिमा ८ लाख ८० हजार ६ सय ८२ पुरुष तथा ८ लाख ३१ हजार ४ सय ७० जना महिला र १८ अन्य गरी कुल  १६ लाख ३२ हजार १५२ मतदाता रहेका छन् ।   

  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १२:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया