जसपालाई जनकपुरधाम दिने निर्णयसँगै कांग्रेसका कार्यकर्ता आक्रोशित, मेयर पद नछाड्ने चेतावनी

आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएसँगै असन्तुष्टिका स्वर बाहिर आउन थालेका छन् ।
 
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकबाट ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको भागबण्डा मिलाएसँगै जनकपुरधाममा विरोधका स्वर सुनिन थालिएको हो । 

भागबण्डाका आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपालको भागमा परेको छ । जनकपुरधाम जसपालाई दिने निर्णय गरेसँगै नेपाली कांग्रेसका कार्यकर्ता आक्रोशित बनेका छन् । 

केन्द्रीय गठबन्धनको निर्णय आफूहरुले नमान्ने नेपाली कांग्रेस जनकपुरधामका नगरसभापति मनोज साहले बताए । उनले भने, ‘गठबन्धनको यो निर्णय नेपाली कांग्रेसलाई आघात पुर्याउने हिसाबले गरिएको हो । निर्णयको हामी घोर भर्त्सना गर्दछौँ ।’

नगरसभापति साहले यस निर्णयविरुद्ध कडा प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् । साहले केन्द्रीय गठबन्धनको यस्तो निर्णयले कांग्रेसी कार्यकर्ताको मनमा आघात पुगेको बताए । उनले यो निर्णयविरुद्ध वडा समिति, नगर समिति र क्षेत्रीय समितिहरु आक्रोशित बनेको बताए ।
 
जिल्लामा उपलब्ध शीर्ष नेताहरुसँग बिहीबार छलफल गरेर उनले आगामी रणनीति तय गरी गठबन्धनको विरोधमा उत्रने चेतावनी दिएका छन् । साहले जसपाबाट उठ्ने उम्मेदवार भ्रष्टाचारी रहेको र भ्रष्टाचारीलाई आफूहरुलाई भोट नदिने बताए । 

जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसको आफ्नै उम्मेदवार हुने र मेयर पद आफूहरुले कुनै पनि हालतमा नछोड्ने उनले दाबी गरे । नगरसभापति साहले आफू मेयर पदको निर्विकल्प उम्मेदवार रहेकोसमेत बताए ।

कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले केन्द्रमा गठबन्धन गर्ने निर्णय स्वीकार गर्नुपर्ने बाध्यता रहे पनि स्थानीय कार्यकर्ताको आक्रोशप्रति आफ्नो सहमति रहेको बताए ।
 
०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार १८:३०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया