माध्यमिक तहको शिक्षासम्मको अधिकार पाएका स्थानीय सरकारहरुले एसइईभन्दा तल्लो तहसम्मको परीक्षा सञ्चालन गर्दै आएका छन् । पहिले जिल्लाले गर्ने जिल्लास्तरीय परीक्षा अहिले स्थानीय सरकारले गराउँदै आएका छन् ।
जिल्लास्तरीय परीक्षाको रुपमा रहेको कक्षा आठको परीक्षा सञ्चालनमा भने स्थानीय सरकारहरु चुकेका छन् । उनीहरु प्रश्नपत्र निर्माणमै चुकेका हुन् ।
दाङका दुई उपमहानगरपालिका तुलसीपुर र घोराहीका शिक्षा शाखाहरुले प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाही गर्दा विद्यार्थीहरु मर्कामा परेका छन् ।
उपमहानगरको शिक्षा शाखाले तयार गरेको कक्षा आठको विभिन्न विषयको प्रश्नपत्रमा नेपालीबाट सोधिएको प्रश्न र अंग्रेजीबाट सोधिएको प्रश्न फरक–फरक हुँदा विद्यार्थीहरु अन्योलमा छन् ।
तुलसीपुर उपमहानगरपालिकाले तयार परेको सामाजिक शिक्षाको प्रश्न पत्रमा अर्को लापरबाही देखिएको छ । ७५ पूर्णांकको सामाजिक शिक्षाको परीक्षामा विद्यार्थीलाई ९३ पूर्णांकको परीक्षा गराइएको छ । त्यसमा पनि संविधानसँग सम्बन्धित प्रश्नमा नेपालीमा एउटा र अग्रेजीमा अर्कै अर्थ लाग्ने प्रश्न राखिएको छ ।
घोराही उपमहानगरपालिकाको शिक्षा शाखाले तयार पारेको जनसंख्या शिक्षाको कक्षा ८को प्रश्नपत्रमा पनि गल्ती पाइएको छ । नेपालीमा लागुऔषधसम्बन्धी प्रश्न सोधिएको छ भने अंग्रेजीमा वायु प्रदूषणको विषय राखिएको छ ।
यस्ता प्रश्नले विद्यार्थीहरुलाई दोधारमा परेको र प्रश्नपत्र निर्माणमा देखिएको यो लापरबाहीले शिक्षकलाई उत्तर पुस्तिका परीक्षणमा समेत समस्या हुने देखिएको शिक्षकहरुले बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले प्राविधिक कारणले प्रश्नपत्रमा केही गल्ती भएको स्वीकार गरे । आगामी दिनमा यस्ता गल्तीहरुलाई सुधार गरेर लैजाने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।