गण्डकीमा सम्भव छ एमालेको सरकार ? पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिका कारण तरंग

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयर–उपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे । उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुन सुकैबेला गण्डकीको सरकार ढल्न सक्छ । र, एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई मेयरको टिकट दिन हुँदैन ।’ उनको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरंग आएको छ । 

एमालेनिकट केही नेताहरुले नै उनको अभिव्यक्ति भन्दै ४८ घण्टाभित्र सत्तारुढ दलका ३ सांसदले राजीनामा दिन लागेको सामाजिक सन्जालमै लेखेका छन् । ‘नेकपा एमाले सचिवालय बैठकमा विशेष स्रोतका अनुसार उपमहासचिव कमरेड पृथ्वीसुब्बा गुरुङले ४८ घण्टाभित्र अन्य दलका ३ जना सांसदले राजीनामा दिने र आफ्नो नेतृत्वमा सरकार बन्ने रिपोर्ट गर्नुभएअनुसार पार्टीले कुनै प्रदेश संसदलाई मेयर उठाउन नहुने प्रस्ताव गर्नुभएको छ,’ एमालेनिकट इन्जिनियरको संस्था पिनका केन्द्रीय नेता ध्रुव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । 

उपमहासचिव गुरुङले समेत जुनसुकै अवस्थामा सरकार ढल्न सक्ने बताए । ‘सर्वोच्चले विकल्प रहँदासम्म सरकार बन्न दिनुपर्छ र चुनावमा जान दिनुहुँदैन भनेर फैसला गरेको छ । त्यो हेर्दा गण्डकीमा छिटै एमालेको सरकार बन्न सक्छ,’ उनले भने, ‘अहिले सांसदलाई राजीनामा गराएर मेयरमा पठाउँदा समस्या हुन्छ । त्यसैले सांसदलाई टिकट दिनुहुँदैन ।’ तर, एमालेले नै भरतपुरमा बागमती प्रदेश सांसदलाई मेयर टिकट दिने पक्का भएको छ । उनले संसदबाट राजीनामा दिइसकेका छन् ।

‘बागमतीमा जति गरे पनि एमालेको सरकार बन्दैन । गण्डकी र लुम्बिनीमा त्यो सम्भावना जीवित छ,’ उनले अघि भने, ‘अरु प्रदेशमा जेसुकै होस् । लुम्बिनी र गण्डकी विशेष ख्याल गर्नुपर्छ ।’ तर, उनको अभिव्यक्तिले खासै प्रभाव पार्ने सम्भावना छैन । किनकि गण्डकी सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको हो । संविधानतः यही सरकार अन्तिम हो । यदि यो सरकार ढले संसद विघटन हुन्छ र ६ महिनाभित्र चुनावको मिति घोषणा गरिन्छ ।

उनको अभिव्यक्तिपछि सत्तारुढ दलहरु सचेत भएका छन् । दलका नेताहरुले आफ्ना सांसद खोजी गर्न थालेका छन् । यहाँ जेठ २९ गते गुरुङ नेतृत्वको एमाले सरकार ढलेर गठबन्धनको सरकार बनेको हो । तर, निकै झिनो बहुमतमा । ५९ सांसद रहेको यहाँ सरकारको समर्थनमा सभामुखसहित ३२ सांसद छन् । एकजनाले छोड्नेबित्तिकै सरकार ढल्छ ।

पोखराको मेयरमा एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारीको नाम केन्द्रमा सिफारिस भएको छ । उपमहासचिव गुरुङले थापालाई टिकटबाट रोक्न फण्डा गरेको आरोप एकाथरीको छ भने अर्कोथरीले समर्थन गरेका छन् । यहाँको मेयर उपमेयरमा ३–३ जनाको नाम मतदान प्रक्रियाबाट टुंग्याउन लागिएकोमा अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको हो ।



कास्कीमा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकराव छ । थापा अधिकारी गुटमा खुलेका कारण गुरुङले उनलाई रोक्न लागेको दाबी उक्त पक्षको छ ।



  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार २२:१३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया