कसरी पालिएका छन् तालिबान विद्रोही ?

एजेन्सी– विगत लामो समयदेखि अफगानिस्तानको विद्रोही संगठन तालिबान अमेरिकाको चुनौती बनेको छ । तालिबानविरुद्ध लड्नका लागि अमेरिकाले आफ्ना सैनिक अफगानिस्तानमा खटाएको छ । तर, पछिल्लो समय अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलाउने तयारी गरेको बताइएको छ । 

सन् २००१ बाट अफ्गानिस्तानको सत्ताबाट तालिबान बाहिर निस्केका थिए । त्यसपछि अमेरिकी सेनाको सहयोगमा अफगानी सेना तालिबानविरुद्ध संघर्ष गरिरहेको छ । अहिले तालिबानसँग ६० हजार लडाकु रहेको बताइन्छ । यसकै सहयोगमा तालिबानले अफगानिस्तानको धेरै भूभागमा कब्जा जमाएका छन् र यो विस्तारको क्रम जारी छ । 

१७ वर्षदेखि अफगानी सरकारलाई मात्रै नभएर अमेरिकालाई पनि चुनौती दिइरहेको तालिबानी लडाकुलाई कसले पालिरहेको छ त ? युद्धका लागि उनीहरूलाई पनि आर्थिक स्रोत चाहिन्छ । त्यसका लागि उनीहरूका विभिन्न आम्दानीका स्रोत छन् । 

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको सत्तामा तालिबानको राज थियो । त्यो वेला उनीहरूले निकै क्रूर ढंगले कर लगाएका थिए । सत्ताच्युत भएपछि अहिले पनि उनीहरूले यस्तै प्रकारको कर नीति प्रयोग गरिरहेको बताइन्छ । 

बिबिसीका अनुसार उनीहरूले निकै कसिलो आर्थिक व्यवस्था चलाएका छन् । उनीहरूले युद्ध खर्च जुटाउन विशेष कर नीति प्रयोग गरिरहेका छन् । सन् २०११ मा यो संगठनको वार्षिक आय ४५ अर्ब रहेको थियो । त्यो बढेर अहिले १ खर्ब ६८ अर्बभन्दा बढी भएको छ । 

अफगानिस्तानी सरकार र अमेरिकी सैनिकले तालिबानको कर सञ्जाल बन्द गर्ने कोसिस गरिरहेका छन् । केही समयअघि पनि आफ्ना सैनिकले नसालु पदार्थ बनाउने प्रयोगशाला ध्वस्त पारेको अमेरिकाले बताएको थियो । 



तालिबानको कमाइ नसालु पदार्थ मात्र भने होइन । यसभन्दा अघि अफिम खेती नै उनीहरूको कमाइको प्रमुख स्रोत मानिथ्यो । यसैले सन् २०१२ मा संयुक्त राष्ट्र संघले यस विषयमा चेतावनी पनि दिएको थियो । 

अफिम र कर नीति 



अफगानिस्तान अफिम उत्पादनमा विश्वकै सबैभन्दा ठूलो देश हो । त्यहाँ उत्पादन भएको अफिम हरेक वर्ष निर्यात गर्दा १ सय ६५ देखि ३ सय ३६ अर्ब रुपैयाँ कमाइ हुन्छ । विश्वभरि पाइने हिरोइनको सप्लाई पनि यही क्षेत्रबाट हुने गरेको बताइन्छ । 

अफगानिस्तानमा अफिमको खेती हुने सानो भूभाग मात्रै सरकारको नियन्त्रणमा छ । ठूलो भूभाग तालिबानको नियन्त्रणमा छ । त्यसैले पनि तालिबानको आम्दानीको मुख्य हिस्सा अफिम नै रहेको बताइन्छ । 

तालिबान विद्रोही अफिम कारोबारबाट पटक–पटक कर लिने गर्छन् । अफिम उत्पादन गर्ने किसानसँग उनीहरूले १० प्रतिशत कर लिने गरेका छन् । यसबाहेक अफिमबाट हिरोइन बनाउने प्रयोगशालाबाट पनि उनीहरू कर लिन्छन् । यति मात्रै होइन, उनीहरू अफिमको अवैध व्यापार गर्ने व्यापारीसँग पनि कर संकलन गर्छन् । यसरी हरेक वर्ष उनीहरूले ११ देखि ४४ अर्ब सम्मको आम्दानी गर्छन् ।

लागुपदार्थ काराेबार

तालिबानको आम्दानीको ६० प्रतिशत हिस्सा लागुपदार्थबाट आउने गर्छ । त्यसैले अमेरिकी सैनिकले अफिमबाट हिरोइन बनाउने ४ सय देखि ५ सय प्रयोगशालामा आक्रमण गरेको हो । उक्त आक्रमणपछि अफिमबाट हुने कमाइमा एक चौथाइ कमी आउने अमेरिकी सैनिकले बताएका छन् । 

अमेरिकी सैनिकले उक्त प्रयोगशाला नष्ट गरे पनि तालिबानलाई त्यसको पुनर्निर्माण गर्न समय र खर्च धेरै नलाग्ने बताइन्छ । तर, तालिबान विद्रोहीले भने आफूहरूमाथि लाग्ने गरेको नसालु पदार्थ काराेबारको आरोपको भने खण्डन गर्दै आएका छन् । 

आम्दानीका अन्य स्रोत 

सन् २०१८ मा बिबिसीले गरेको अध्ययनबाट अफगानिस्तानको ७० प्रतिशत क्षेत्रमा उनीहरूको उपस्थिति देखिएको थियो । यी सबै क्षेत्रबाट उनीहरूले कर संकलन गरिरहेका छन् । तालिबानले केही महिनाअघि पनि अफगानिस्तानका प्रमुख व्यापारीलाई खुला पत्र लेख्दै तालिबानको नियन्त्रित क्षेत्रमा व्यापार गर्नका लागि आफूलाई कर तिर्नुपर्ने बताएको थियो ।

यसबाहेक टेलिकम र मोबाइल अपरेटसँग पनि उनीहरूले कर लिन्छन् । तालिबानले हरेक वर्ष २२ करोड रुपैयाँबराबरको बिजुली बेचेर कमाइ गरिरहेका छन् । उनीहरू युद्धबाट पनि कमाइ गर्ने गर्छन् । कुनै पनि सेनाको ब्यारेक वा सहरमा आक्रमण गर्दा उनीहरू त्यहाँबाट सोझै सामान लुटेर फर्किन्छन् । यस्तो आक्रमणबाट उनीहरूले सरकारी ढुकुटीका साथै हतियार, कार र अन्य सामान पनि लुट्छन् । 

खनिज क्षेत्रमा प्रभुत्व

अफगानिस्तान खनिज पदार्थको मामलामा पनि निकै धनी देश मानिन्छ । द्वन्द्वका कारण अहिलेसम्म यहाँको खनिजको भरपूर उत्खनन भएको छैन । अहिलेसम्म अफगानिस्तानको निकै सानो परिणाममा र अवैध रूपमा मात्रै खनिजको उत्खनन भइरहेको छ । 

तालिबानले खनिज क्षेत्र आफ्नो कब्जामा पारेर त्यो क्षेत्रमा काम गर्ने उद्योगीबाट समेत कर लिने गरेका छन् । युएनको एक रिपोर्टमा तालिबानले २५ देखि ३० उत्खनन कम्पनीबाट हरेक वर्ष १ सय १२ करोड रुपैयाँ आम्दानी गरिरहेको बताइएको थियो । 

उक्त क्षेत्रमा सामान लिन जाने हरेक ट्रकबाट उनीहरूले ५६ हजार रुपैयाँ लिने गरेको बताइन्छ । उक्त क्षेत्रमा दैनिक सयौँ ट्रक सामान ओसार्न जान्छन् । तालिबानले खनिज उत्खनन क्षेत्रबाट हरेक वर्ष ५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको बताइन्छ ।

विदेशी सहयोग

अमेरिकी तथा अफगानी अधिकारीका अनुसार तालिबानलाई पाकिस्तान, इरान र रुसलगायत देशले सहयोग गर्ने गरेका छन् । तर, यी देशले भने अहिलेसम्म सो आरोपलाई अस्वीकार गर्दै आएका छन् । साउदी अरब, युएई, पाकिस्तान र कतारका मानिसले पनि व्यक्तिगत रूपमा तालिबानलाई सहयोग गरिरहेको बताइन्छ । 

तर, तालिबानको आम्दानी यति नै हो भनेर यकिन गर्न त सम्भव छैन तर जानकारहरूका अनुसार तालिबानको वार्षिक आम्दानी ५६ अर्ब हाराहारी रहेको अनुमान छ । 

  • प्रकाशित मिति : पुस १४, २०७५ शनिबार १५:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया