जिल्ला तहको सिट बाँडफाँटमा माधव नेपाल किन असन्तुष्ट ?
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भए पनि सोहीअनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिपोर्टले आफूहरूलाई उत्साही नबनाएको पनि स्पष्ट पारे । 

महानगरपालिका र उपमहानगरपालिकाको पदहरूको सिट बाँडफाँटले आफूहरू उत्साही भए पनि जिल्लाको रिपोर्टले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो । 

‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरूको बाँडफाँट उत्साहवर्द्धक थियो । र, यसले राम्रो सन्देश पनि दिएको छ ।  तर, विभिन्न जिल्लाको रिपोर्टहरू सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन,' उनले भने 'हामीले भनेका थियौ–नेकपा –माओवादी केन्द्र)ले जितेको ठाउँमा सोही पार्टी । नेपाली काँग्रेसले जितेको ठाउँमा कांग्रेस, जनता समाजवादीले जितको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेसनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षड्यन्त्र एमालेले गरिरहेको आरोप लगाए । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिँएको उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए । 



‘भोलि नोमिनेशन फाइल गर्ने दिन हो । पर्सि पनि नोमिनेशन गर्ने दिन हो । यो दुई दिन राखिएकोमा पनि षड्यन्त्र होला । ११ गते नोमिनेशन गर्लान । र, १२ गते मान्छेको अनुहार हेरी विद्रोही उम्मेदवार खडा गरिदिउँला भनि सोचेका पनि होलान् । अनि आफूले मात्रै त्यस्तो तिकडम गर्न जानेको छ भनी ठानेका होलान् । अरुले पनि त्यस्तो तिकडम जानेको छ । केन्द्रबाट पछारिए, प्रदेशबाट पछारिए । राष्ट्रियसभाबाट पछारिए । यसरी पछारिँदा पनि अझै होस खुलेको छैन । पहिलो शक्ति हुँ भन्ने दम्भ होला,’ उनले भने ।

अध्यक्ष नेपालले एमालेभित्रका केही नेताहरू निराश र हतास मनस्थितिमा रहेको दाबी गर्दै उनीहरूलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरे ।
 



  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १३:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया