स्वतन्त्र उम्मेदवार वैद्यनाथ भन्छन् - नेता होइन जनकपुरधामवासीको सेवक भएर काम गर्न चाहन्छु

आसन्न स्थानीय तहको निर्वाचनका लागि असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथ साहले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । साहले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका साहले आफू विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेकोले जनकपुरधामवासीले आफूमाथि भरोसा गरेर मत दिने विश्वास व्यक्त गरे । 

उनले काठमाडौंपछि जनकपुरधामलाई दोस्रो ठूलो पर्यटकीयस्थल बनाउन सकिने बताउँदै आफू जितेपछि यहाँका विभिन्न पोखरी एवं मठमन्दिरलाई सौन्दर्यीकरण गर्ने दाबी गरे । 

उनले भने, ‘आफ्नो भिजनले म जनकपुरधामलाई पर्यटकीय क्षेत्र बनाउन सक्छु । यहाँको फोहोर व्यवस्थापन गर्न सक्छु । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्न र युवालाई रोजगारी सिर्जना गर्न मसँग थुप्रै योजना पनि छन् । त्यसलाई कार्यान्वयनमा ल्याउन नेतृत्व तहमा पुग्न आवश्यक छ ।’

साहले आफू नेता नभई सेवक रहेको र जनकपुरधामवासीको सेवा गर्नका लागि आफू नेतृत्वमा पुग्न आवश्यक रहेको जिकिरसमेत गरे । 

उनले विगतमा पनि आफूले जनकपुरधामवासीका लागि थुप्रै सेवामूलक काम गरेको बताए । कोरोना महामारीको समयमा पनि करिब ५ हजार घरमा राहत वितरण गरेको स्मरण गर्दै साहले जनकपुरधामवासी आफ्नो कामसँग प्रभावित रहेकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । 



पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मलाई नेता बन्नु छैन, जनकपुरधामबासीको सेवक भएर काम गर्न चाहन्छु ।’

यसअघि जनकपुरधामको नगरप्रमुखका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली कांग्रेसका नगरसभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।



निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनको तालिका तय गरेको छ ।

  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १३:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया