गण्डकीमा गठबन्धनको मनोनयन भोलि, एमालेले पनि टुंगो लगाउन सकेन उम्मेदवार

गण्डकीमा गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने भएका छन् । भागबण्डाको कुरा मिल्न ढिलाइ भएकाले उम्मेदवारले भोलि मनोनयन गर्ने भएका हुन् ।

नेकपा एमाले पनि उम्मेदवार पनि टुंग्याउन सकेका छैन । दलहरूको अलमलले मनोनयन ढिला भएको हो । सकेसम्म अझै गठबन्धनको प्रयास गर्ने र नभए मित्रवत प्रतिस्पर्धामा जाने दलहरूको तयारी छ । त्यसैले आइतबार रातिसम्म प्रयास जारी राखिने कांग्रेस गण्डकीका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।

‘आज अझै प्रयास गर्छौं । नेताहरूसँग छलफल गर्छौं । मलाई लाग्छ, गठबन्धन कायम हुनेछ,’ उनले भने, ‘त्यसैले गठबन्धनका उम्मेदवारले सोमबार मात्रै मनोनयन दर्ता गर्ने तयारी गरेका छौं ।’ 

जिल्लाबाट रिपोर्ट झिकाएर बैठकमा ब्रिफिङ भइरहेको छ । गठबन्धनको अनिर्णयले दलहरुमा उम्मेदवार छनोट प्रक्रियासमेत अलमलिएको छ । जिल्ला तहमा गठबन्धन बलियोसँग हुन नसकेपछि तालमेल टुट्ने देखिएको छ । 

गोरखामा कांग्रेस–माओवादीको मात्रै तालमेल गरिएकोमा केन्द्रले हस्तक्षेप गरेपछि अझै अन्योल सिर्जना भएको छ । अरु जिल्लामा पनि कुनै टुंगो छैन । आन्तरिक बैठक बसिरहेका छन् ।

माओवादी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ गठबन्धन संस्कृति नभएका कारण समस्या भैरहेको बताउँछिन् । ‘हाम्रोमा गठबन्धनको संस्कृति छैन । त्यसमाथि फरक विचारधारा भएका पार्टीबीच गठबन्धन हुँदैछ,’ उनले भनिन्, ‘केही सकस भइहाल्छ । हामी मिलाउने प्रयासमै छौं ।’



जनता समाजवादी पार्टी गण्डकी उपाध्यक्ष हेमबहादुर थापाले बैठकमा छलफल मात्रै भएको तर निर्णय हुन नसकेको बताए । गठबन्धनको प्रदेशस्तरीय बैठक शनिबार राति पनि बसेको थियो । अहिलेसम्म ८५ मध्ये कुनै पनि पालिकामा गठबन्धन मिलेको छैन । यद्यपि महानगरमा भने केन्द्रबाट भागवण्डा टुङ्ग्याइएको थियो ।

गठबन्धनको मात्र होइन, एक्लै चुनावी तयारी गरेको एमालेमा पनि टिकट टुंगिएको छैन । शनिबार ३० पालिकाको मात्रै टिकट वितरण गरेको एमालेले आज बाँकी टिकट बाँड्ने छ । केन्द्रीय नेताहरु काठमाडौंमै भएकोले टिकट वितरण रोकिएको हो ।



  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार ९:४३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया