आज र भोलि स्थानीय तहको निर्वाचनका मनोनयन हुँदैछ । तर, इलाममा दलहरूले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् । प्रमुख र उपप्रमुखको टुंगो नलाग्दा जिल्लाबाटै टुंगिने वडाध्यक्ष र सदस्य उम्मेदवारको नामसमेत सार्वजनिक गरिएको छैन ।
कतिपय ठाउँमा छनोट भएका उम्मेदवारप्रति कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि नगर कमिटीबाट सामूहिक राजीनामा गरेका छन् । पार्टीको कार्यालयमा तालाबन्दी गरिएको छ ।
जनाधार नभएकाको व्यक्तिलाई चुनावमा लिएर जान नसकिने भन्दै नगर कमिटीका पदाधिकारी तथा सदस्य र जनवर्गीय संगठनका प्रमुखले राजीनामा गरेका हुन् ।
नगर कमिटीबाट नरेन्द्रनाथ भट्टराईको नाम तेस्रो नम्बरमा सिफारिस भएको थियो । एक नम्बरमा धिरेन चेम्जोङ र दोस्रो नम्बरमा कृष्ण श्रेष्ठको नाम सिफारिस भएको थियो ।
नेपाली कांग्रेसले इलाम नगरपालिका प्रमुखको टुंगो लगाउन सकेको छैन । दलहरूबीचको भागबण्डामा इलाममा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै पाउने छ । प्रमुखमा केदार थापा र खगेन्द्र देवानले दाबी गरिरहेका छन् । उपप्रमुखमा विष्णु दाहालको नाम टुंगिएको बताइए पनि आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।
उम्मेदवार छान्न सकस परेपछि सदरमुकाम रहेको पालिकामा ठूला दलहरूले आज मनोनयन दर्ता गर्ने तयारी समेत गरेका छैनन् । एमालेले सूर्योदय, देउमाई नगरपालिका, रोङ र माङसेबुङ्ग गाउँपालिकाका लागि उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् ।
सूर्योदयको प्रमुखमा काजीमान कागते, उपप्रमुखमा दुर्गादेवी भट्टराई, देउमाइको प्रमुखमा सूर्य पोख्रेल र पविमाया राई, माङसेबुङ गाउँपालिकाको अध्यक्षमा हेमन्त राई र उपाध्यक्षमा सुनिता योङहाङ, रोङको अध्यक्षमा मेहरमान तामाङ र विष्णुमाया भुजेल सर्वसम्मत सिफारिस भएका छन् ।
सर्वसम्मत सिफारिस नभएको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा उदय राई र उपाध्यक्षमा शोभा पराजुलीलाई दोहोर्याएर उम्मेदवार बनाउने बुझिएको छ ।
माइजोगमाइको अध्यक्षमा कुशबहादुर थेबे र उपाध्यक्षमा सावित्रा भट्टराईको नाम टुङ्गिएको छ । चुलाचुली गाउँपालिकाको अध्यक्षमा ओमनारायण र उपाध्यक्षमा दिलु लावतीको टिकट पक्का भए पनि एमालेले उम्मेदवार सार्वजनिक गर्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।