स्थानीय निर्वाचन : गण्डकीमा टिकट एउटाले पाए, अर्कैले गरे उम्मेदवारी दर्ता

आउँदो ५ वर्षका लागि सोमबार स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन हुँदै थियो । राजनीतिक पार्टीहरूले ढिलो गरी उम्मेदवार टुंग्याए । विशेषगरी गठबन्धन दलहरूमा उम्मेदवार टुंग्याउन समय लाग्यो । मनोनयनको केही घण्टाअघि मात्रै टिकट वितरण गरेको कांग्रेसमा उम्मेदवार चयन प्रक्रिया राम्रो नहुँदा तल्लो तहमा समस्या आयो ।

एमालेका उम्मेदवारसमेत मनोनयनको केही समयअघि मात्रै टुंगिएका हुन् । शनिबार पोखरा महानरपालिकाको मेयरमा एमालेले दीपक पौडेललाई टिकट दिइयो । आफ्नै पार्टीका कार्यकर्ताहरूले पूरानो भिडिओहरू निकालेर बद्नाम गरे । सोमबार उनको टिकट खोसेर प्रदेश सांसद कृष्ण थापालाई दिइयो । उम्मेदवारी दर्ताको तयारी गरिरहेका पौडेल थापाको र्‍यालीमा हिँडे ।

कांग्रेसले पोखराको उपमेयरमा सोमबार बिहान सुरेन्द्रमान विजुक्छेलाई टिकट दिइयो । मनोनयनका लागि गठबन्धनका उम्मेदवारहरू र्‍यालीमा निस्किए । विजुक्छे घरबाट निस्किनै लाग्दा टिकट खोसियो र कोपिला रानाभाटलाई दिइयो । गठबन्धनबाट मेयरको टिकट पाएका धनराज आचार्य कांग्रेस र माओवादीका नेतासहित मनोनयन स्थलमा पुगिसक्दा कोपिला भने घरमा कपडा फेर्दै थिइँन् । उनी धनराजले दर्ता प्रक्रिया सुरु गरिसकेपछि हस्याङ फस्याङ गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगिन् ।

कास्कीको रूपा गाउँपालिकामा कांग्रेस कास्कीले अध्यक्षमा आनन्द सुवेदीलाई टिकट दियो । उपाध्यक्षमा अप्सरा श्रेष्ठ उठ्ने भइन् । टिकट लिएर उनीहरू मनोनयनका लागि पालिका गए । तर, कांग्रेस कार्यकर्ताले बाटो छेकेर भित्र पस्नै दिएनन् । उनीहरूको चाहना आनन्दले टिकट नपाउन् भन्ने थियो ।

कांग्रेस रुपाका नेता कार्यकर्ताहरूले आनन्दलाई अघिल्लो चुनावमा कांग्रेस हराएको आरोप लगाएका छन् । त्यसो त उनी लगायत आठजनाले कांग्रेस उम्मेदवारको विरुद्ध अभियान नै चलाए । मिडियाबाजी गरे, वक्तब्य निकाले । पछि पार्टीमा कारबाहीको लागि सिफारिस भयो, तर कारबाही भएन ।

अघिल्लो पटकको उम्मेदवार प्रकाश मोहन खनाल विरुद्धको गतिविधिको नेतृत्व उनै सुवेदीले गरेका थिए । अहिले कांग्रेसले सुवेदीलाई उल्टै टिकट थमाएर पठायो, त्यसको प्रतिक्रिया राम्रो आएन । मनोनयन स्थलमा घण्टौं कुरेपछि पनि भित्र छिर्न नपाएपछि कांग्रेस कास्कीले केन्द्रमा उम्मेदवार फेरिदिन सिफारिस पठायो ।



केन्द्रीय समितिले सुवेदी र श्रेष्ठको ठाउँमा नयाँ उम्मेदवारलाई टिकट दियो । अघिल्लो चुनावमा उपाध्यक्ष पराजित गीमाया गुरुङलाई अध्यक्षको टिकट दियो भने नारायण श्रेष्ठलाई उपाध्यक्षमा पठायो । उनीहरुले ढिलो गरी मनोनयन दर्ता गरे ।

गोरखाको गोरखा नगरपालिकामा मेयरको टिकट विश्वदेव श्रेष्ठले पाए । कांग्रेस गण्डकी प्रदेशले श्रेष्ठलाई टिकट दिएपछि उनी टिकट लिएर जिल्ला गए । मनोनयनका लागि फोटो खिच्न स्टुडियो छिरेका श्रेष्ठलाई कार्यकर्ताले भित्रै कुटपिट गरे । उनको टिकटको विरुद्धमा जिल्ला पार्टी कार्यालयमा तालाबन्दी भयो ।



घटना नियन्त्रणबाहिर जाने सम्भावना बढेपछि कांग्रेस केन्द्रले टिकट फेरिदियो । उनीबाट खोसेर हालकै मेयर राजनराज पन्तलाई टिकट दिइयो । त्यसो त, श्रेष्ठ मतदातामाझ खासै चिनिएका अनुहार होइनन् । पन्त अघिल्लो चुनावमा भारी मतान्तरले जितेका व्यक्ति हुन् ।

मनाङको नार्पाभूमिमा भने फरक घटना भयो । राजनीतिक पार्टीहरूले एउटामा टिकट दिए, उम्मेदवारहरू अर्कै पदमा उठे । एमालेले पालिका अध्यक्षमा ज्याप्ले गुरुङलाई टिकट दिएकोमा उनले पार्टीको टिकट लुकाएर स्वतन्त्र रुपमै उपाध्यक्षमा उम्मेदवारी हाले । ज्याप्ले नार्पाभूमिको निर्विरोध उपाध्यक्षमा चुनिएका छन् ।

कांग्रेसले कृष्णबहादुर लामालाई उपाध्यक्षको टिकट थमायो । उनी पालिका पुगेर अध्यक्षमा उम्मेदवारी हाले । कांग्रेसबाट अध्यक्षमा हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामाले टिकट पाएका थिए । कृष्णले स्वतन्त्र उम्मेदवारी दिएपछि त्यहाँ कांग्रेस–कांग्रेसबीच मै प्रतिस्पर्धा हुने भएको छ ।

यद्यपि, एमाले समर्थित अर्का उम्मेदवार पनि छन् । उनी पनि स्वतन्त्र उम्मेदवार बनेका हुन् । नार र फू गाउँमध्ये बढी जनसंख्या र मतदाता नारमा छ । कृष्णबहादुर नारका हुन् भने कोन्जो फूका हुन् । यहाँ दलीयभन्दा पनि भेगीय राजनीति बढी छ । अरु धेरै पालिकाहरुमा पनि सबैजसो पार्टीबाट उम्मेदवारी विवादित बनेको छ ।

  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार १४:५०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया