पोखरेलको राजीनामाले गठबन्धनबाट हेटौँडाको मेयर उम्मेदवार लामालाई थपियो चुनौती

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकामा चुनावी माहोल तातिएसँगै राजनीतिक उतारचढावसमेत बढेको छ । केन्द्रीय गठबन्धन समितिको निर्णयले गठबन्धनमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू आफ्नो पार्टीसँग रुष्ट बनेका छन् ।

गठबन्धनमा गएपछि आफूहरूको माग पूरा नभएको र ठूला नेताहरूले केन्द्रको निर्देशन मात्रै मानेको आरोप लगाउँदै आएका नेता तथा कार्यकर्ताहरू निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको विरोध गर्ने तथा पार्टीबाटै राजीनामा दिने थालेका छन् । यसको एक बलियो उदाहरण बनेका छन् नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल ।

५ पुस २०७८ मा संसद् विघटन भएपछि नेकपा एमालेबाट छुटिएर माधव नेपाल पक्षले दर्ता गराएर नयाँ राजनीतिक दल एकीकृत समाजवादी बनेको थियो । एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी बनेपछि श्रीधर पोखरेल मकवानपुर पार्टी अध्यक्ष बनेका थिए ।

त्यस्तै, पार्टीको जिल्ला उपाध्यक्षमा मीनाकुमारी लामा छिन् । आठ महिना नेतृत्वमा रहेका पोखरेलले पार्टीबाटै राजीनामा दिएका छन् । हेटौँडाको मेयरको टिकट नपाएको आवेगमा पोखरेलले राजीनामा दिएको नेता-कार्यकर्ताबीच चर्चा छ ।  

लामा गठबन्धनका तर्फबाट हेटौँडाको मेयरमा उम्मेदवारी दिइरहँदा आफ्नै पार्टीबाट धोका भएको उनको भनाइ छ । पोखरेलले पार्टीबाटै राजीनामा दिएपछि एकीकृत समाजवादीको जिल्ला उपाध्यक्षसमेत रहेकी हेटौँडाको मेयरकी उम्मेदवार लामालाई दबाब थपिएको छ ।

पार्टीको जिल्ला अध्यक्षसँगै सचिवालय सदस्यहरू सामूहिक राजीनामा दिएपछि अब लामालाई मेयर जित्न चुनौती थपिएको छ । गठबन्धनमै रहेका चार राजनीतिक दलहरूको सबै मत लामालाई नै आउला भन्नेमा शंका छ । किनकि रूख चिह्नमा भोट दिइरहेका मतदाताले कलम चिह्नमा भोट हाल्न लगाउनु गठबन्धनलाई अर्को चुनौती पनि हो ।



अझै व्यक्ति चिनजान नभए पनि पार्टीको चिह्न हेरेर मत दिने चलनका कारण पनि लामालाई मेयर जित्न चुनौती नै छ । त्यसो त, २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौँडाको उपमेयरमा उम्मेदवारी दिएर सूर्य चिह्नबाट जित हाँसिल गरेकी लामालाई अब मेयर बनाउन पनि सूर्य चिह्नमै भोट हाल्नुपर्छ भन्ने मतदाताको बुझाइ चिर्नुपर्ने देखिन्छ ।

यता, पोखरेलले एकीकृत समाजवादीबाट राजीनामा दिएपछि एमालेलाई फाइदा हुने देखिएको छ । किनकि आफ्नै पार्टीबाट अलग्गिएर गएका पोखरेल चुनावी माहौललाई सघाउन पुरानै पार्टीमा फर्केलान् भन्नेमा एमाले ढुक्क बनेको नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ बताउँछन् । यद्यपि, अहिलेको परिस्थितिमा स्वतन्त्र रहने पोखरेलको भनाइ छ ।



पोखरेलले यस कारण छोडे एकीकृत समाजवादी

पोखरेल स्थानीय तह निर्वाचनको मिति तोकिएदेखि नै एकीकृत समाजवादीबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा दाबी गर्दै आइरहेका थिए । एकीकृत समाजवादीबाटै पार्टीका उपाध्यक्ष तथा हेटौँडाकी उपमेयर लामाले पनि हेटौंडाको मेयरमा दाबी गरिरहेकी थिइन् ।

एकै पार्टीबाट दुवै जनाको दाबी भइरहँदा एकीकृत समाजवादीबाट एक जना मेयर र अर्का उपमेयरको उम्मेदवारी दिने छलफलसमेत भइरहेको पोखरेलले अभिव्यक्ति दिने गरेका थिए ।

तर, केन्द्रबाट नेपाली कांग्रेसको अगुवाइमा पाँच राजनीतिक दलहरूले गठबन्धनमा स्थानी तहको चुनाव लड्ने निर्णय गरेपछि समाजवादीबाट लामा र पोखरेलमा कसले मेयरमा दाबी गर्ने भन्ने लामो चर्चा चल्यो । मिडियाहरूसँग दुवै जनाले भन्ने गरेका थिए - ‘हेटौंडाको लागि मेयर पदमा मेरो दावेदार छ । एकीकृत समाजवादीबाट मैले नै उम्मेदवारी दिनेछु ।’

तर, पार्टीको आन्तरिक छलफलपछि गठबन्धनबाटै हेटौँडाको मेयरमा लामाले टिकट पाइन् । त्यसपछि पार्टीसँग रुष्ट बनेका पोखरेल आफू स्वतन्त्र रहने मनसाय बनाउँदै राजीनामाको उचित समयको पर्खाइमा रहेका थिए । अन्ततः निर्वाचन आउन १७ दिन मात्रै बाँकी रहँदा बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरेर पोखरेलले पार्टी परित्याग गरेको र अहिले 'न्यूटल' रहने बताएका छन् ।

  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १६:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया