नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’
कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता

प्रकाशन बजारलाई थप चलायमान बनाउने उद्देश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । यो कामको लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेको छ । 

नेपालयले शुरु गर्न लागेको यो कामलाई 'नेपालय ई-कविता' भनिने छ । यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहनेछन् । यो प्लेटफर्ममार्फत कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्ने छन् ।

साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेजमार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्युटरमा सिधै उपलब्ध हुनेछन् । हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचनसमेत सुन्न सकिने व्यवस्था हुने छ ।

‘ई–कविता’ को परिकल्पनामाथि प्रकाश पार्दै नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘कला र साहित्यले हामीलाई कठिन समयमा सान्त्वना दिने माध्यमको रूपमा काम गरेको हुन्छ । हामीले क्वारन्टाइनको परिधिमा आफूलाई सिमित गरेसँगै, अनलाइनमा उपलब्ध खुराकमार्फत् धेरैले आफ्नो साहित्यिक भोकलाई व्यवस्थापन गरेको पायौं । कवि, कलाकारहरूले पनि आफ्ना सृजनाहरूलाई सहज रुपमा बाँडे । ती सत्रहरूमा देखिएको जनसहभागिता र चासो उत्साहजनक थियो । तर, यसरी प्रकाशित र प्रसारित हुने सृजनाले सर्जक र पाठक–श्रोता बीच सेतुको काम गरेपनि, व्यवसायिक व्यवस्थापनको टड्कारो आवश्यकताको पनि महसुस भयो ।’

उनका अनुसार ‘ई-कविता’को परिकल्पना, त्यही व्यवसायिक सेतु हो जसले पाठकसँग कविहरूलाई व्यावसायिक रूपमा प्रत्यक्ष सम्बन्ध गाँस्ने प्रयास गर्नेछ ।

‘ई–कविता’ का क्युरेटर एवं संयोजक कवि श्रवण मुकारुङले पनि यसको परिकल्पना पूर्व लकडाउन ताका, आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए । सो अनुभवको आधारमा ‘ई –कविता’ का बारे आफ्नो विचार राख्दै संयोजक मुकारुङ भन्छन्- ‘कविता, लामो समयदेखि व्यवसायिक प्रकाशन जगतको प्राथमिकता क्रममा पछाडि रहेको साहित्यिक विधा हो । यस्तो स्थिति सिर्जना हुनुमा, पाठकहरूमा राम्रो कविताप्रति आकर्षण नभएर होइन । बरू, हामीले कविता लेख्ने र प्रकाशित गर्ने कामलाई व्यावसायिक बनाउन नसकेर हो । प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन सँस्कृतिलाई नै नौलो अवसर प्रदान गर्ने कुरामा म आशावादी छु । ‘ई-कविता’ले कविहरूलाई निश्चय पनि गरिमा र सम्मान प्रदान गर्दै सुसुचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुर्‍याउने छ ।’



‘ई –कविता’को शुरुवात यही बैशाख १७ गते शनिबारदेखि शुरु हुने भएको छ । संयोगबस यो दिन आमाको मुख हेर्ने दिन परेकोले शृङ्खलाको पहिलो कविताको रुपमा, आमाहरु र अग्रजहरु प्रति सम्मान एवं समर्पण स्वरूप कवि गोपाल प्रसाद रिमालको 'आमा' शीर्षकको प्रसिद्ध कवितालाई कवि श्रवण मुकारूङले वाचन गरेका छन् ।

यस शृंखलामा अब तपाईं नेपालीभाषाका कविहरूका अप्रकाशित नयाँ सृजनाहरू साप्ताहिक रुपमा पढ्न र उनीहरूकै वाचनमार्फत् आफ्नो काव्यात्मक साहित्यिक प्यासलाई मेट्न सक्नु हुनेछ । 



शुरुको महिना पाठक तथा श्रोताले कविताहरू आफ्नो नाम दर्ता गरेर निशुल्क पढ्न र सुन्न पाउने छन् । त्यसपछि निशुल्क पढ्न पाउने कोटा महिनाको एउटा कवितामा सीमित गरिने छ र सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नु पर्ने नेपालयले जनाएको छ । 

'कविता विधालाई व्यवसायिक बनाउने यो हाम्रो सुरुवाती प्रयास हो । विभिन्न अनलाइन श्रोताहरूमा निशुल्क उपलब्ध कविताहरूलाई सशुल्क पठन संस्कारमा परिणत गर्न चुनौतीपूर्ण हुने कटु तथ्य हामीले बुझेका छौँ' नेपालयका किरण श्रेष्ठ भन्छन् 'यो चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने विश्वासका साथ योजना सहित ई-कविता सुरु गरिएको हो । यो अभियानलाई कविता मन पराउनु हुने सचेत पाठकहरूले वार्षिक ग्राहक बनेर सहयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।'

यो कार्यको प्राविधिक विकास र व्यवस्थापन थुप्रै डट कमले गरेको छ । ई-बुक एपमार्फत् आफ्नो प्राविधिक दक्षता प्रदर्शन गरि सकेको थुप्रैले ई-कवितालाई आफ्नो ई-बुक एपबाट पनि पढ्न र सुन्न सक्ने गरी व्यवस्थापन गर्ने नेपालयले जनाएको छ ।

नेपालयका अनुसार ‘ई-कविता’मा उपलब्ध हरेक कविता रु. १५ मा उपलब्ध हुनेछन्, साथै रु. ५२५ को सहुलियत मूल्यमा यसको वार्षिक ग्राहक हुने व्यवस्था उपलब्ध छ । विदेशमा रहेका पाठक श्रोतालाई भने ५ अमेरिकी डलरमा बार्षिक ग्राहक सुविधा उपलब्ध गराइएको छ ।

  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १४:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया