सिर्जना सिंहको प्रतिबद्धता : काठमाडौं महानगरलाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त बनाउँछु

सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

शनिबार नेपाली कांग्रेसनिकट बुद्धिजीवि पेशाकर्मी परिचालक समिति, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौं महानगरपालिकालाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने बताएकी हुन् । उनले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू
लागिपर्ने बताइन् । 

सिंहले सबै महिलाको भावनालाई कदर गरेर अघि बढने योजना पनि सुनाइन् । उनले भनिन्, ‘मेरो पहिलो प्रतिवद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ । आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाहरुको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।’

सिंहले आफूलाई नेपाली कांग्रेसले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएको बताइन् । सुरुमा मेयरका लागि नेपाल महिला संघ, काठमाडौंले प्रस्ताव गर्दा आफ्नो श्रीमान प्रकाशमान सिंहलाई थाहा नै नभएको उनको दावी थियो । 

‘मलाई थाहा थिएन । मेरो श्रीमानलाई त झन थाहा हुनै कुरै भएन । नेपाल महिला संघ, काठमाडौंमा मलाई मेयरमा उठ्नुपर्छ भनेर स्वतस्फूर्त रुपमा कुरा उठाएको हो । सधैंभरी आरक्षणको कोटामा मात्रै महिलाहरु बस्नुपर्ने । अव मेयर र वडाध्यक्षहरु नै उठ्नुपर्छ र त्यसमा मेयरमा सृजना भाउजूलाई उठाउनुपर्छ भनेर नेपाल महिला संघ, काठमाडौंले मलाई प्रस्ताव गरेको हो’ उनले भनिन् ।

गणेशमान, मंगलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको सिंहले बताइन् । उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनु भएका गणेशमान, मंगलादेवी र प्रकाशमान सिंहको परिवारको सदस्य भएर राजनीतिक आन्दोलनमा सरिक हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको पनि बताइन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार १६:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया