फरकधारकर्मी विसीको उपन्यास ‘रमा’ विमोचन
फरकधार / १७ बैशाख, २०७९

पत्रकार तथा साहित्यकार पुनम विसीको उपन्यास ‘रमा’ विमोचन गरिएको छ । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमबीच विसीको उपन्यास ‘रमा’ विमोचन गरिएको हो ।



कर्णाली महिलाका भोगाइ समेट्दै लेखिएको उपन्यास ‘रमा’ विसीको पहिलो उपन्यास हो । विसीले भने, ‘०७० सालदेखि यो उपन्यास लेख्न थालेको हुँ । धेरै समय लाग्यो । सानो कथाका रूपमा लेख्न सुरु गरेको थिए । विभिन्न आरोह–अवरोहबीच त्यो कथा अहिले उपन्यासका रूपमा तपाईंहरू सामु आउन सफल भएको छ ।’

उपन्यासमा कर्णालीका महिलाको अवस्थाबारे चित्रण गर्ने प्रयास गरिएको उनले सुनाए । 'कथाले केही वर्ष पहिलेको कर्णालीका महिलाको सामाजिक अवस्था चित्रण गर्न खोजेको हो’, पत्रकार विसीले भने, ‘कर्णाली महिलाका मौनताको कथा उपन्यासमा समेट्न खोजेको छु । विविध कारण बोकेर कर्णालीका महिलाको मौनतालाई बाँध्ने समाजको चित्रण नै रमा हो, यहाँ महिलामा बाँधिएको मौनताका वारेमा प्रस्तुत गरेको छु ।’





पत्रकार विसी तथा उनी सक्रिय रहेको संस्था ‘पुनम फाउन्डेसन’ले ०७२ यता सुर्खेतमा रगत अभावका समयमा तत्काल रक्तदाता उपलब्धतामा समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । पत्रकार विसीले उपन्यास बिक्री–वितरणबाट आउने रकम सोही अभियानका लागि सहयोग गर्ने बताएका छन् ।

फाउन्डेसनले हाल निर्माण सम्पन्न गरेको ‘कर्णाली ब्लड एड’ नामक मोबाइल एप सञ्चालनको अन्तिम तयारीमा छ । उपन्यासका लेखक विसी सो एप सञ्चालनार्थ उपन्यासको आम्दानी खर्चिन चाहेको बताउँछन् । उपन्यास लेखनका क्रममा सहयोग गर्ने सम्पूर्णमा उनले धन्यवाद दिए ।

नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको ३१ औं वार्षिक उत्सवका अवसरमा वीरेन्द्रनगरमा शुक्रबार आयोजित कार्यक्रममा पत्रकार विसीको उपन्यास विमोचन गरिएको हो । उनी फरक इनिसियटिभ्स प्रालिद्वारा प्रकाशित यस फरकधार डट कमका सुर्खेत संवाददाता हुन् ।

  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार १६:३८:४२,   अन्तिम अपडेट : बैशाख १७, २०७९ शनिबार १९:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया