[अन्तर्वार्ता] धार्मिक नगरी जनकपुरधामको शान फेरि स्थापित गर्न मेयरमा मेरो उम्मेदवारी : बिभा ठाकुर

स्थानीय तहको निर्वाचन आउन अब १२ दिन मात्र बाँकी छ । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा पनि उम्मेदवारका प्रत्यासीलाई चुनावको चटारोले छोइसकेको छ । यस्तो अवस्थामा दलहरूले चुनावकेन्द्रित गतिविधि गर्न सुरु गरिसकेका छन् ।

धनुषाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा र चासो मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय मान्यताप्राप्त दलसहित ३२ वटा दलहरू दर्ता भएका छन् । त्यसै दलमध्येकी एक हुन्, तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखकी उम्मेदवार बिभा ठाकुर ।

बिभा ठाकुर तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदको सबभन्दा चर्चित उम्मेदवार हुन् । प्रचार साधनको कमीले बजारमा प्रचार सामग्रीको अभाव देखिए पनि उम्मेदवारको चर्चा  चुलिँदै छ । महिला र आन्दोलनकारी हुनुले उनलाई लाभ मिलिरहेको बताइन्छ । प्रस्तुत छ उनीसँग फरकधारकर्मी दीपक कर्णले गरेको कुराकानीको सम्पादित अंश ।

बिभाजी, तपाईं बडो हिम्मत गरेर उम्मेदवार हुनुभएको छ । के हो त कारण ?

राजनीति भनेको जनताको निमित्त चाहिएको दिशामा देश, प्रदेश र स्थानीय तहलाई आगाडि बढाउनका लागि हो । यो कुनै व्यवसाय वा नाफाको पेशा होइन । अहिले जुन स्थिति देखापरिरहेको छ, त्यसमा गरीब, आन्दोलनकारी, राजनीतिक प्रष्ट धार भएको व्यक्ति राजनीति गर्नै सक्दैन, जनताबीच जान नै सक्दैन भन्ने महसुस भइरहेको छ । यो सबैले अनुभव गरेको कुरा हो । पैसा र बाहुबलले गर्दा लोकतन्त्रको मर्म नै मेटिएको छ । यसको विरुद्ध बिगुल फुकेकी हुँ ।

तपाईंले मेयर पदमा किन उम्मेदवारी दिनु भयो त ?



किन न दिने ? महिला र पुरुषमा भेदभाव किन ? महिलाले पनि नेतृत्व लिन सक्छन् । म आन्दोलनकारी हुँ । परिवर्तन चाहन्छु । म महिला वा पुरुष होइन । महिलाको प्रतिनिधित्व त गर्छु नै आन्दोलनकारी पुरुषको पनि त्यतिकै प्रतिनिधित्व गर्दछु ।

तपाईंबाट नगरवासीले कस्तो आशा गर्ने ?



नगरको सरसफाइको स्थिति, पठन–पाठनको स्थिति, महिला, बालबालिका र वद्ध–वृद्धाको स्थितिमा सुधार मेरो लक्ष्य हो । म लामखुट्टेको पूर्ण नियन्त्रण गर्छु, यहाँको जनताले दिनु परिरहेको चरम करलाई ह्वात्तै घटाउँछु । युवामा विश्वास भर्छु । मिथिला र मैथिलीको लागि काम गर्छु । महिला र युवाको नगरविकासको निमित्त रोजगारको कार्यक्रम चलाउँछु । फोहोरको व्यवस्थापनमा सार्वजनिक र निजी दुवै क्षेत्रको प्रयोग गरेर नमुना व्यवस्थापन गर्ने लक्ष्य राखेको छु ।

बजार क्षेत्रमा पार्किङको व्यवस्था गर्छु । धार्मिक नगरीको शान फेरि स्थापित गर्छु । पार्टीको स्थानीय तहको निर्वाचनको घोषणा–पत्र र हाम्रो जनकपुरधाम लागिको घोषणापत्रलाई कार्यान्वयन गर्छु । यी सबै मेरा लक्ष्य हुन् । यसैको लागि उम्मेदवारी दिएको छु । मलाई सबैले समर्थन गरिराख्नु भएको छ । मलाई पूरा विश्वास छ, जनताले मलाई विजयी गर्नु हुनेछ ।

तपाईंको राजनीतिक यात्राको बारेमा थोरै बताईदिनुस न ।

राजनीतिमा लामो समयदेखि सक्रिया महिला हुँ म । पूर्व सद्भावना पार्टीबाट राजनीतिको सुरुवात गरेकी म मधेस आन्दोलनका चर्चित महिलाहरू मध्येकी एक हुँ । विभिन्न पार्टी हुँदै अहिले तमलोपाको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व सम्हाल्ने जमर्को गरेकी छु ।

लामो समयदेखि राजनीतिमा सक्रिया रहेँ । गत स्थानीय निर्वाचनमा उपमेयरको आकांक्षी रहे पनि टिकट पाउन सकेकी थिइनँ । पार्टीबाट समानुपातिकमा नाम राखिए पनि कुनै कारण पद पाउन सकिनँ ।

लामो समयदेखि मधेसको अधिकारका लागि आन्दोलन गरेको र अनवरत रुपमा मधेसका लागि आवाज उठाउँदै आइरहेकाले जनकपुरधामबासीले मेरो मूल्यांकन अवश्य गर्नु हुनेछ । 

निर्वाचन आचारसंहिताको बारेमा के भनाइ छ ? पालना गरिरहनुभएको छ नि ?

निर्वाचन आयोगले लामो फेहरिस्त दिएको छ । हामीले त पालना गरिरहेका छौं । तोरण लगाएका छैनौं । ध्वनि प्रदूषण छैन । सन्देश मात्र पुर्याउने कोसिस छ । अन्य धेरैले पालन गरिराख्नु भएको छैन । आयोग र प्रशासनले ध्यान दिनु पर्यो । आचारसंहिताको उल्लंघनलाई बेवास्ता गर्नु भएन । यो काम आयोग र प्रशासनको हो । आचारसंहिता कर्मकाण्डी वा सेटिङमा हुनु भएन । कहीँ पनि यसको उल्लंघन गैरकानुनी दण्डनीय गतिविधि नै हो । यसमा सबैले सहयोग गर्नु पर्यो । टिएन शेषणले एक पटक भारतमा गरे र अहिलेसम्म लागू छ । यहाँ पनि आयोग र प्रशासनले चाह्यो भने गर्न सक्छ ।

तपाईंको जनताका लागि कुनै सन्देश छ ?

सही तवरमा मतदानले नै लोकतन्त्रलाई मजबुत गर्न सक्दछ । जात, पैसा वा अन्य कुराको प्रभावमा मतदान भनेको लोकतन्त्रलाई कमजोर गर्ने काम हो । राजनीतिमाथि कुनै किसिमको वर्चस्व ठीक होइन । म योग्य, परिवर्तन चाहने आन्दोलनकारी महिला हुँ । मलाई आशीर्वाद दिनोस् । सेवा गर्ने एउटा मौका प्रदान गर्नोस् ।

  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १६:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया