शहीद रञ्जु झाका छोराको गुनासो : आमाको नाम भजाएर धेरै व्यक्ति ओहदामा पुगे, हामी भने बिचल्लीमै छौँ

जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी गराइएको बम विस्फोट घटनाको १० वर्ष पूरा भएको छ । १८ वैशाख २०६९ मा जनकपुरधामको रामानन्दचोकमा बम विस्फोट भएको थियो । 

मिथिला राज्य संघर्ष समिति मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको बेला बिहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विस्फोटमा पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।

बम विस्फोटमा मिनापकी अनुभवी कलाकार रञ्जु झासहित झगरु मण्डल, विमलशरण दास, दीपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भयो । घटनाको १० वर्ष बितेपनि शहीद परिवारको पीडातर्फ अझै कसैको ध्यान केन्द्रित भएको छैन । मिथिला राज्य संघर्ष समितिको नाममा भजाउनेले लाखौं भजाए तर शहीद परिवारको अवस्था भने जस्ताको त्यस्तै छ । कसैले आफ्नो आमा, कसैले आफ्नो श्रमान्, कसैले सन्तान त कसैले आफ्नो सबथोक गुमाए । तर, उनीहरूको नाममा दर्जनौंले लाखौं कमाए । 

शहीद रञ्जु झाको परिवार भने अहिले पनि समस्यामै छ । सबैले आ–आफ्नो आमाको मुख हेर्ने दिन मनाए । रञ्जुका छोराहरू भने आफ्नो आमाको पुण्यतिथि मनाइरहेका छन् । 

रञ्जुका कान्छो छोरा ज्ञानुकुमार झा आइतबार आफ्नो आमाको यादमा सामाजिक सञ्जालमा बिलौना गरिरहेका थिए । उनले प्रत्येक वर्ष आफ्नो आमाको नाममा मिथिला राज्य संघर्ष समितिले दीप प्रज्ज्वलन गरी औपचारिकता मात्र पूरा गरे पनि आफूहरूको अवस्थाको बारेमा भने कसैले कुनै सोधखोजसमेत नगरेको गुनासो गरे ।

‘मिथिला राज्य संघर्ष समितिका पदाधिकारीहरूले शहीद परिवारका लागि आफूहरूले धेरै काम गरेको दाबी गरिरहँदा वास्तविकता भने बेग्लै छ,’ ज्ञानुले भने । बमकाण्डपछि घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई गृह मन्त्रालयले १० लाख रुपैयाँ दिने, शहीद परिवारमध्येका कुनै एकजनालाई सरकारी जागिर प्रदान गर्ने, उच्च शिक्षा अध्ययनमा पनि छुट दिनेलगायतका परिपत्र नै जारी भएको थियो । तर, त्यसको कार्यान्वयनका लागि संघर्ष समितिले अहिलेसम्म पनि कुनै पहल नगरेको ज्ञानुको आरोप छ । 



उनले आफूहरूका लागि पहल गर्ने आश्वासन दिएका निकाय र व्यक्तिहरू नै आफ्नो आमा र मिथिला राज्य संघर्ष समितिको नाममा भजाएर खाने काम गरेको आरोपसमेत लगाए । ‘मेरो आमाको नाम भजाएर धेरै व्यक्ती ओहदामा पुगिसके । तर, हामी भने अहिलेसम्म पनि बिचल्लीमै छौँ । घटना भएपछि सबैले आश्वासन दिन घरसम्मै पुग्थे तर, अहिले हामी कहाँ छौं? कुन अवस्थामा छौं? त्यसको अब सोधखोज पनि कसैले गर्दैनन्,’ ज्ञानुले भने । उनले १० वर्षमा समितिका कुनै पनि व्यक्तिले एकपटक फोन गरेर पनि आफूहरूको अवस्था नसोधेको दुःखेसो पनि सुनाए । 

समितिका संयोजक परमेश्वर कापडिप्रति आक्रोशित हुँदै ज्ञानुले भने, ‘समितिका संयोजक परमेश्वर कापडिलाई राराब क्याम्पसको मैथिली बिभागको प्रमुख बनाइदिएपछि उनी पनि चुप लागे । उनले मात्र आफ्नो ओहोदा हेरे । शहीद परिवार कुन अवस्थाबाट गुज्रिरहेका छन् त्यसको कुनै सोधखोज उनले पनि कहिलै गरेनन्, सबै आ–आफ्नै स्वार्थमा लिप्त छन् ।’ 



  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार १३:११:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया