मन्त्रालयले गरेको पत्राचारप्रति ‘स्थानीय सरकार’को ध्यानाकर्षण

काठमाडौं– गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ‘स्थानीय तहको शिक्षासम्बन्धी अधिकारको प्रयोग’ सम्बन्धमा स्थानीय तहलाई गरेको पत्राचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले मन्त्रालयलाई सम्बोधन गरी आज लेखेको पत्रमा उक्त विषयमा ध्यानाकर्षण भएको उल्लेख छ । 

महासङ्घले संविधानको अनुसूची ८ क्रसं ८ को एकल अधिकारका रुपमा रहेको आधारभूत तथा माध्यमिक शिक्षालाई अनुसूची ९ मा उल्लेख भएको शिक्षा, खेलकुद र पत्रपत्रिकासँग जोडेर साझा अधिकारका रुपमा व्याख्या गरिनु संविधानविपरीत भएको ठहर गरेको छ । 

‘सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी सम्हालेको मन्त्रालयको उक्त पत्रले केही प्रश्न उब्जाए पनि संविधानको मूल आशयलाई आत्मसात गर्दै तत्तत् तहका सरकारलाई आवश्यक सहजीकरण गर्नेछ भन्नेमा हामी स्थानीय सरकार विश्वस्त छौँ । त्यसैले मन्त्रालयको उक्त पत्रलाई यथाशीघ्र फिर्ता गर्न हामी आग्रह गर्दछौँ,’ पत्रमा उल्लेख छ । 

महासङ्घले संविधानतः स्थानीय सरकारलाई प्राप्त एकल अधिकार क्षेत्रको प्रयोग संविधानसँग नबाझिने गरी स्थानीयस्तरमा रहेका सम्बद्ध सरोकारवालाको अधिकतम् समन्वयमा स्थानीय कानुन निर्माण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै गाउँपालिकालाई आह्वान गरेको छ । 





  • प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार २१:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया