देशमा गरिबी किन छ यसको लेखा परीक्षण गर्ने बेला भएको छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नका लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका हुन् । उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परीक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नुपर्ने बताए । 

मुलुकभित्रका हिमाल, तराई, पहाड, नदीहरु, झरना , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परीक्षण गर्नुपर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परीक्षकहरुलाई परीक्षण गर्न आग्रह गरे । उनले यस्तो कुराहरुको लेखा परीक्षण नगरी राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमानदारिताको समेत परीक्षण गर्न जरुरी रहेको दोहोर्‍याए ।

अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परीक्षण गर्नुपर्ने बेला भएको बताए । उनले विगतमा लेखा परीक्षण गर्दा प्लस राख्ने ठाउँमा शून्य राखिएकाले गरिबी अन्त्य नभएको बताए । अब मुलुकको गरिबीको लेखा परीक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो । 

उनले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परीक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताए । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परिक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परीक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताए ।
 





  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार १८:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया