लेखराजको निर्वाचन क्षेत्र गोदावरीमा द्विपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

सुदूरपश्चिमको स्थायी राजधानी घोषित गोदावरी नगरपालिकाको मेयर पदका लागि ९ जना चुनावी मैदानमा छन् । गोदावरीका प्रत्येक वडामा वडाध्यक्षसहित पाँच जना, नगर प्रमुख र उपप्रमुख गरी ६२ जना जनप्रतिनिधिका लागि वैशाख ३० मा निर्वाचन हुँदैछ ।

नगर प्रमुखका लागि ९ जना चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट र नेकपा एमालेका गोकर्ण भट्टबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । अहिलेका प्रतिस्पर्धी दुवै जना २०७४ को निर्वाचनमा पनि चुनावी मैदानमा थिए ।

एमाले उम्मेदवारलाई जिताउने नेता लेखराज भट्ट कस्सिएका छन् । एमालेको उम्मेदवार गोकर्ण लेखराजको भाइ हुन् । उनी २०७४ को निर्वाचनमा पनि तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिस्पर्धामा थिए ।

त्यतिबेला गोकर्ण तेस्रो भएका थिए । उनले ६ हजार ४८१ मत ल्याएका थिए । माओवादीबाट एमाले प्रवेश गर्दै गोकर्ण भट्ट फेरि उम्मेदवार बनेका हुन् ।

०७४ सालको निर्वाचनमा गोदावरीमा एमालेका हरिसिंह साउद ९ हजार ८ सय ७० मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरेन्द्र भट्टले ८ हजार ४ सय ५७ मत पाएका थिए ।

कांग्रेसको राम्रो प्रभाव मानिएको गोदावरीमा २०७४ को निर्वाचनमा भएको गल्तीलाई सच्याउँदै अहिले नेता-कार्यकर्ता एक भएर चुनावी प्रचारमा गरिरहेका छन् ।



यता गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी उम्मेदवार वीरेन्द्र भट्टले सबै समुदायको प्रतिनिधित्व हुने गरि नगर विकासको काम प्रतिबद्धता गरेका छन् ।

उनले भने, ‘म पनि कोभिडबाट पीडित भएको मान्छे हो । सबै समुदायको प्रतिनिधित्व गर्ने गरी नगरलाई अगाडि बढाउनेछु । सबैको नेतृत्व हुने गरि विकास निर्माणका काम अगाडि बढाउनेछु ।’



उनले यसपटक गोदावरीमा कांग्रेसबाहेक अरू कसैले पनि जित्न नसक्ने बताए । ‘कांग्रेसको जित ०७४ मै भएको हो’, उनले भने, ‘त्यतिबेला पार्टीको केही कमजोरीले गर्दा झिनो मतान्तरले हार्नुपरेको हो । अहिले त्यस्तो हुँदैन । सम्पूर्ण कांग्रेस एक भएर चुनावी प्रचारमा रहेको छ । अहिले जित पक्का छ ।’

गोदावरीमा गठबन्धनमा कांग्रेसको मेयर भाग परेको हो भने उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा रहेको छ । समाजवादीको तर्फबाट रत्ना कडायत उपमेयरको उम्मेदवार रहेकी छन् । उनी निवर्तमान उपमेयरसमेत हुन् । यसअघि नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।

यस्तै, एमालेबाट मेयरका प्रत्यासी गोकर्ण भट्टले पनि आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘सबै वडामा पार्टीको संघ-संगठनहरू प्रचारमा लागेका छन् । दुई पार्टी एक भएको हुँदा एमालेको जित हुने निश्चित छ’ उनले भने ।

गोकर्णले अहिले जनताको घरदैलोमा रहेको बताउँदै जनतालाई नयाँ परिवर्तनको प्रत्याभूति आफूले दिने दाबी गरे । ‘मैले गोदावरीलाई नयाँ परिवर्तनको प्रत्याभूति गराउनेछु’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगार जनताका आधारभूत विषयमा प्रतिवद्धता गर्दै आएको छु ।’

गोदावरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट विक्रम विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गाकुमार पोखरेल, लोकतान्त्रिक समाजवादीबाट फकलु चौधरी, राष्ट्रिय जनमुक्तिबाट रामबहादुर रावल, राष्ट्रिय जनमोर्चाबाट हरिकृष्ण पाण्डे तथा स्वतन्त्रमा टेकबहादुर विक र मिने मल्लले उम्मेदवारी दिएका छन् ।

माओवादीको तर्फबाट उम्मेदवारी दिएका विश्वकर्मालाई पार्टीले फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टीले फिर्ता आउने निर्णय गरेको भए पनि उनी मौन बसेका छन् । फिर्ता भने आएका छैनन् ।

राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखका उम्मेदवार हरिकृष्ण पाण्डेले नेतृत्व राम्रो भए परिवर्तन सम्भव रहेको बताए । उनले भने, ‘गोदावरी नगरपालिकामा भ्रष्टाचार छ । ८ जना अहिले पनि सस्पेन्सनमा छन् । मेरो २ मात्र एजेन्डा छ । पहिलो आर्थिक पारदर्शिता र दोस्रो सुशासन हो ।’

यस्तै, नगर उपप्रमुखका लागि राष्ट्रिय जनमोर्चाबाट कल्पना बराल, राप्रपाबाट खिमावेदी विष्ट, माओवादी केन्द्रबाट रीता खड्का र एमालेबाट शारदादेवी रोकाया चुनावी मैदानमा छन् । गोदावरी नगरपालिकामा १२ वटा वडा छन् । उपमेयरमा पनि माओवादीको फिर्ता लिने निर्णय गरेको छ । उनी पनि मौन छन् ।

गोदावरीमा प्रमुखका लागि ९, उपप्रमुखका लागि पाँचसहित २ सय ९० जना उम्मेदवारको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सहायक निर्वाचन अधिकृत शिवराज भाटले बताए ।

उनले भने, ‘तीन सय १६ जनाले मनोनयन दर्ता गर्न आएका थिए । जाँच गर्दा तीन सय ७ जना रहे नौ जनाको बदर भयो । १७ जनाले नाम फिर्ता लिए । २ सय ९० जनाको अन्तिम उम्मेदवारी सार्वजनिक गरिएको छ । २० जना स्वतन्त्र हुन भने अन्य दलगत रूपमा चुनाव लड्दैछन् ।’

उम्मेदवारहरू कार्यकर्ता तथा सहयोगीको साथमा जनताको घर–दैलोमा पुग्न थालेका छन् । उनीहरु नगरको विकास निर्माण, सुशासन, राजनीतिक एजेन्डासहित भोट मागिरहेका छन् ।

  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार २०:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया