लमजुङ– गाउँघरका मानिस सहर पसेपछि खालीजस्तै भएको मर्स्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउँन थालेका छन् ।
मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैँचीखेती विस्तार भएसँगै गाउँमै रहेको सिर्जना प्राथमिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न थालेको हो ।
कक्षा १ देखि ३ सम्मको उक्त विद्यालयमा विस्तारै विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । गतवर्ष चारजना मात्र विद्यार्थी रहेको सिर्जना प्राविमा यो वर्ष १४ विद्यार्थी नियमित विद्यालयमा आउने गरेको विद्यालयमा प्रधानाध्यापक नौजग गुरुङले बताए ।
‘गाउँका प्रत्येक घरमा पानीको धारा जडान गरिएको छ । मोटरबाटो घर छेउमै छ । अलैँचीबाट राम्रो आम्दानी भएको छ‘ उनले भने, ‘सहरकै सुविधा गाउँमा भएपछि सहरबाट गाउँमा फर्केर बालबच्चा पढाउन थालेका छन् ।’
अलैँचीबाट मनग्य आम्दानी हुन थालेपछि स्थानीयवासीले आफ्ना बालबच्चालाई सहर पढाउन थालेका थिए । गाउँछेवैको विद्यालय अन्यत्र जाँदा पछिलो समय गाउँमा समस्या हुने भन्दै सहरमा झरेकाले आफ्ना बच्चालाई गाउँमै पढाउन थालेका हुन् ।
प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयले स्थानीयसँग पटकपटक अनुरोध गरेपछि बजारमा बस्ने गरेका अभिभावकले पुनः गाउँकै विद्यालयमा बालबच्चा पढाउन थालेका हुन् । स्थानीय शान्तिमाया तामाङले गाउँको स्कुल शून्य भएपछि स्कुल जोगाउनुपर्छ, भन्ने सोचले छोरीलाई गाउँमै फर्काएको बताए ।
‘जिल्ला सदरमुकाममा बोर्डिङ स्कुलमा पढने गरेको छोरीलाई गाउँकै विद्यालयमा पढाउन थालेको छु,’ उनले भने, ‘अर्को वर्ष बजार पसेका गाउँका सबै बच्चालाई गाउँ फर्काउछौँ ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रिमाया तामाङले गाउँलेलाई जुटाएर विद्यालय गाभिनबाट जोगाउँन सहरमा रहेका बालबच्चालाई गाउँकै विद्यालयमा फर्काउन अनुरोध गरेको बताइन् ।
गत वर्ष विद्यालयमा कक्षा १ मा तीन, दुईमा एक विद्यार्थी थिए भने ३ कक्षामा विद्यार्थी नै थिएनन् । अहिले बाल विकासमा १०, कक्षा एकमा ४, दुईमा १ र तीनमा १ विद्यार्थी छन् । कार्यालय सहयोगी र सरकारी दरबन्दीका दुई शिक्षक गरी तीन कर्मचारी छन् ।
कुल ५२ घरधुरीको छिनखोला गाउँका करिब ३५ घरधुरीका मानिस मात्रै गाउँमै बसोवास गर्ने गरेका छन् । बाँकी सहर जाने र समय–समयमा फर्कने गर्छन् । गाउँका सबै बालबालिकालाई गाउँमै ल्याएर पढाउने वातावरण बनाउने लक्ष्य रहेको विद्यालयका प्रअ गुरुङले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।