धर्मसंकटमा मन्त्री अधिकारी : संन्यास कि राजीनामा ?

काठमाडौं– वाइडबडी खरिद प्रकरणमा दोषी देखिएपछि संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको राजनीतिक भविष्यमाथि प्रश्न उठेको छ । 
अनलाइन खबरलाई केही समयअघि दिएको अन्तर्वातामा मन्त्री अधिकारीले यो प्रकरणमा आफ्नो गल्ती भेटिए राजनीतिबाटै संन्यास लिने घोषणा गरेका थिए ।

वाइडबडी विमान ल्याउनुलाई आफ्नो सफलताको रुपमा चित्रण गरेका अधिकारीले विमान खरिदमा भ्रष्टाचार भएको समाचार आउन थालेपछि सो प्रक्रियामा आफू संलग्न नभएको बताउँदै आएका थिए ।

सार्वजनिक लेखा समितिद्वारा गठित छानबिन उपसमितिले यो प्रकरणमा भ्रष्टाचार भएको किटान गर्दै मन्त्री अधिकारीलाई समेत दोषी ठहर्याएपछि उनले राजीनामा देलान् वा आफूले घोषणा गरेझैँ राजनीतिबाटै संन्यास लेलान् भन्ने चासो सर्वत्र उब्जिएको छ । 

भैरहवा विमानस्थलको कार्गाे भवन शिलान्यास गर्न पुगेका मन्त्री अधिकारी उपसमितिको प्रतिवेदन सार्वजनिक हुनासाथ बुधबारै काठमाडौं फर्किएका थिए ।

विमानस्थलबाट सिधै मन्त्रालय पुगेका उनले निकटस्थहरुसँग सोही प्रतिवेदन र यसले पैदा गरेको नयाँ परिस्थितिबारे छलफल गरेको स्रोतले बताएको छ । 

उम्कन सकेनन् मन्त्री अधिकारी



महालेखा परीक्षकको ५५औँ वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको भन्दाभन्दै मन्त्री अधिकारीले कुनै छानबिन नगरी अन्तिम किस्ता भुक्तानी गर्न आदेश दिएको प्रतिवेदनमा उल्लेख छ । 

वाइडबडीमा भएको अनियमितताको चर्चा चलिरहँदा मन्त्री अधिकारीले आफ्नो कार्यकालमा कुनै भुक्तानी नदिएको र आफू उक्त प्रक्रियामा सामेल नभएको बताउँदै आएका थिए । 



अन्ततः उपसमितिलाई दिएको जवाफमा उनले महालेखा परीक्षकसँग अनौपचारिक परामर्श गरी अन्तिम किस्ता भुक्तानी दिएको स्वीकार गरे । तर, उपसमितिसँगकै बयानमा महालेखा परीक्षकले भने मन्त्री अधिकारीले कुनै छलफल नगरेको बताएका थिए । 

संसद्मा उठेका प्रश्नको जवाफ दिँदै उनले यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेस गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसलाई औपचारिकतामै सीमित गरेको उपसमितिले आरोप लगाएको छ । 

कहिले आफू आएपछि रकम दिएको छैन भन्ने, कहिले छलफल गरेर दिएको भन्ने, वास्तवमा छलफलै नगरी रकम दिएकोमा उपसमितिले मन्त्री अधिकारीको मिलेमतो पुष्टि गरेको हो । उपसमितिले उनलाई प्रचलित कानुनबमोजिम कारबाहीको सिफारिस गरेको छ । 

संन्यास कि राजीनामा ?

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मन्त्री अधिकारीलाई पदबाट राजीनामा गर्न सुझाब दिएका छन् । ‘उहाँले संन्यास लिन्छु भने पनि अहिले नै लिनुहुन्छ भन्ने लाग्दैन र लिनुपर्छ भन्ने पनि लागेको छैन,’ उनी भन्छन्, ‘युवा पुस्ताले राजनीतिक नेतृत्व लिनुपर्छ भन्दै गर्दा उहाँमाथि लागेको आरोपले केही नराम्रो संदेश जान सक्छ ।’

मन्त्री पदबाट राजीनामा दिएर अधिकारीले अनुसन्धानलाई सहज बनाउनुपर्ने तर्क गर्दै पौडेलले उनको राजीनामाले पछिल्लो पुस्ता नैतिक छ भन्ने सन्देश जाने बताए । भ्रष्टाचारको स्पष्ट आरोप लाग्दा उत्तर दिन पनि नचाहने, राजीनामा पनि नदिने हो भने नयाँ र पुरानो पुस्तामा फरक नदेखिने उनले बताए ।

सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दोषीलाई कारबाही हुनुपर्ने बताउँछन् । ‘प्रतिवेदनअनुसार संसद्ले गलत देख्छ भने निरपेक्ष रुपमा कारबाही हुनुपर्छ,’ उनले भने ।

मन्त्री अधिकारीले राजीनामा देलान् वा राजनीतिबाट संन्यास लेलान् भन्ने विषयमा भने प्रवक्ता श्रेष्ठले कुनै प्रतिक्रिया दिएनन् । 

मन्त्री अधिकारी भने कुनै ठोस निर्णयमा पुगिनसकेको उनीनिकट स्रोत बताउँछ । 

  • प्रकाशित मिति : पुस १८, २०७५ बुधबार २२:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया