प्रचण्डको देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्तिले रेनुलाई फाइदा भयो कि घाटा ?

बिहीबार सत्तारुढ गठबन्धनले भरतपुरमा चुनावी समारोह गर्यो । स्थानीय तह निर्वाचनको घोषणा भएसँगै सबैभन्दा बढी चर्चामा आएको महानगर हो, भरतपुर । 

सत्तारुढ गठबन्धनले भागवण्डा गर्दा भरतपुर नेकपा माओवादी केन्द्रलाई पारिएको थियो । यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समय अडान लिएका थिए । उनले त्यति बेला पेरिसडाँडामा गरेको एक कार्यक्रममा आफूहरुलाई भरतपुर नै चाहिने र रेनुलाई उठाउन नखोजेको अभिव्यक्ति दिएका थिए । 

तर, गठबन्धनको बैठकमा आफ्नोसमेत चुनावी क्षेत्र भएकाले भरतपुर आफूहरुलाई आवश्यक भएको उनले अडान राखिरहेका थिए । उनको अडानले जित्यो, भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रको भागमा पर्यो ।

भरतपुर महानगरमा मेयरको उम्मेदवार नेपाली कांग्रेसले उम्मेदवारी दिनुपर्छ भन्ने भरतपुरका कांग्रेस नेताहरुको माग थियो । चितवन सभापति राजेश्वर खनालसहित चितवनका कांग्रेस नेताहरुले काठमाडौंमा आएर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइरालालगायतलाई भेटेका थिए, यही कुरा स्मरण गराएका थिए । 

त्यति बेला काठमाडौंमा शेखर कोइरालाले यसपटक भरतपुर मेयरमा नेपाली कांग्रेसबाटै मेयर निर्वाचित हुने आश्वासनसमेत दिएका थिए । 

तर, गठबन्धनले मेयरको पदमा रेनुलाई आधिकारिक उम्मेदवार बनाएपछि चितवनमा कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् । दर्जनौँले कांग्रेसको क्रियाशिल सदस्यता त्यागेका छन् । 



यही कारण त्यहाँ कांग्रेसका पूर्वसांसदसमेत रहेका नेता जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन्, बागी । उनले उम्मेदवारी दिएपछि कांग्रेसले उनलाई क्रियाशिल सदस्यताबाटसमेत कारवाही गर्दै पार्टीबाट निस्कासित गरेको छ । तर, उनको उम्मेदवारीले गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई चुनौति थपिएको छ ।

असन्तुष्ट कांग्रेस नेता तथा समर्थकले यसपटक रेनुलाई हराउनु पर्छ भन्दै विभिन्न क्याम्पेनसमेत चलाएका छन् ।



यहीबीच सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बिहीबार भरतपुरमा आयोजित सभामा सम्बोधन गरे । त्यही सम्बोधनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक गठबन्धनकी उम्मेदवार रेनु दाहालले हारेमा राष्ट्रिय दुर्घटना हुने अभिव्यक्ति दिएका थिए । 

‘हालिदैन हँसिया हतौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ उनले भनेका थिए, ‘होइन यो राष्ट्र र जनताको आवश्यकता हो । लोकतन्त्रको आवश्यकता हो भनेर उत्साहपूर्वक रेनु दाहाल र चित्रसेन अधिकारीलाई भोट दिएर विजयी गराउने हो भने यो गठबन्धनलाई २० वर्ष लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’

यसै पनि फेरि दोहोरिने भए पछि रेनु दाहालको उम्मेदवारीलाई लिएर असन्तुष्टि बढिरहेको समयमा प्रचण्डको यस्तो अभिव्यक्तिले रेनुलाई थप फाइदा भयो होला कि बेफाइदा ? 

हामीले यही प्रश्न रेनु दाहालको चुनावी अभियानमा खुलेर लागेका चितवनका एक व्यवसायीलाई सोधेका थियौँ । 

‘त्यसले सकारात्मक नै प्रभाव पारेको छ,’ उनले भने, ‘अहिले यहाँ कांग्रेस पनि एकजुट हुन थालेको छ र गठबन्धनलाई जिताउनु पर्छ, हामीले धोका दिँदैनौँ भन्ने कांग्रेसको धारणा छ ।’

कांग्रेसका केही कार्यकर्ता तथा समर्थकहरु जगन्नाथ पौडेलको उम्मेदवारीका कारण त्यता जाने सम्भावना भए पनि त्यसले मत संख्यामा ठूलो असर नपार्ने उनले बताए । 

उनका अनुसार रेनुको चुनावी अभियानमा यसबारे विश्लेषणसमेत भएको छ । ‘कांग्रेसको मत जगन्नाथ पौडेलले ल्याउने सम्भावना त्यस्तै दश हजार हाराहारीमा देखिन्छ,’ उनले भने, ‘यसले अहिले थपिएका नयाँ मतदाता संख्या र विकासको लहर देखेर माओवादी केन्द्रमा बढेका मतदाताको संख्यालाई खासै असर गर्दैन ।’

उनले सत्तारुढ गठबन्धनले बिहीबार गरेको चुनावी सभाले गठबन्धनको अहिलेको आवश्यकतालाई थप प्रष्ट बनाएकाले पनि यसको प्रभाव सकारात्मक भएको दाबी गरे । ‘चुनावी सभाले एउटा भाइब क्रिएट गरेको छ,’ उनले भने, ‘त्यो सभाले चितवनको राजनीतिक पारो ह्वात्तै बढाएको छ, तर रेनुलाई अहिले मतदाताले उनले गरेको विकासका कारण नै दोहोर्याउन चाहेका छन् ।’

अहिले रेनुले ल्याएका प्रतिबद्धता र भोलिको भरतपुरको विकासको कल्पनालाई हेरेर भए पनि रेनुलाई यसपटक भरतपुरमा मतदाताले जिताउने उनले दाबी गरेका छन् । 

तर, उनको यो तर्कमा सहमत छैनन्, जगन्नाथ पौडेलको चुनावी कार्यक्रममा सहभागी भइरहेका नेपाली कांग्रेसका चितवनका एक नेता । 

‘त्यो अभिव्यक्तिले प्रष्ट पारेको छ, गठबन्धन राम्रो कामका लागि बनेको होइन, प्रचण्डले अहिले पनि चितवनमा आएर थर्काएर आफ्नो छोरीलाई जिताउन खोजेका छन्,’ उनले भने, ‘यसले सकारात्मक सन्देश त झन् कसरी जानु ? त्यो सभाका कारण हामीलाई हाम्रा उद्देश्य पूरा गर्न थप सहज भएको छ ।’

  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार २१:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया