क्रिकेट खेलाडीले पाउने भए दुई वर्षदेखि रोकिएको तलब

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे विशेष पहलमा उनीहरूले पारिश्रमिक पाउने भएका हुन् ।

नेपाल क्रिकेट संघमा देखिएको विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा सो संस्थालाई निलम्बन गरेपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । 

राखेपका वर्तमा सदस्यसचिव केशवकुमार विष्टका अनुसार परिषद्को पहलमा राखेपमार्फत दुई वर्ष (सन् २०१७ र २०१८)को पारिश्रमिक उपलब्ध गराउन आइसिसी सहमत भएको छ । खेलाडीले वर्गीकरणअनुसार तलब पाउनेछन् । 

आफूहरूले पहल गरेपछि आइसिसी पैसा दिन सहमत भएको विष्टले बताए । भने, ‘अहिले हामीले खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलबबापतको पैसा पाउनेछन्, उनले भने ।  

विसं २०७३ वैशाखमा क्यान निलम्बन भए पनि नेपाली खेलाडीले ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आइसिसीले नै हेर्दै आएको छ । आइसिसीले राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा तलब दिन लागेको हो ।  

आइसिसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरण गरेको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार,  ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले दुई वर्षको तलब पाउनेछन् । 



त्यसमध्ये ‘ए’ श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।  ‘बी’ श्रेणीमा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह र शक्ति गौचन रहेका छन् । श्रेणी ‘सी’मा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन् । 

‘ए’ श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ठ आठ लाख ४० हजार,  ‘बी’ श्रेणीका खेलाडीले ६ लाख र  ‘सी’ श्रेणीका खेलाडीले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 



आइसिसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन सुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो । 
 

  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार १३:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया