रेशम चौधरीलाई शपथ खुवाइएकोमा राप्रपाको आपत्ति

काठमाडाैं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ खुवाइएकोमा आपत्ति जनाएको छ ।

चौधरीको शपथलगत्तै एक विज्ञप्ति जारी गरी राप्रपाले ‘जघन्य घटनाका अभियुक्त किटान गरी अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सांसदको शपथ खुवाउने कार्यले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको’ टिप्पणी गरेको छ । राप्रपाले यस कार्यको विरोध गर्ने विज्ञप्तिमा उल्लेख छ । 

२०७२ भदौको टीकापुर घटनाका योजनाकार भन्दै प्रहरीले चौधरीलाई पक्राउ गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा अदालतमा विचाराधीन रहेकाले उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

डिल्लीबजार जेलमा रहेका राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको एक वर्षपछि आजै सिंहदरबार लगी शपथ खुवाइएको हो । अपराह्न ३ बजे सभामुख कृष्णबहादुर महराबाट चौधरीले शपथ लिए ।

चौधरीलाई शपथ ग्रहण गराए पनि उनीमाथि लगाइएको मुद्दा भने सरकारले फिर्ता लिएको छैन ।

प्रतिनिधिसभा निर्वाचनमा चौधरीले कैलाली–१ मा राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट प्रत्यक्ष चुनाव लडी जितेका थिए । 



 




  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार १६:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया