यसपालिको निर्वाचनलाई अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएका छौं : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेको बताएका छन् । सोमबार एक सन्देशमार्फत उनले ३० वैशाखमा हुन लागेको निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा पनि लिएको बताएका छन् ।    

‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरूले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएका छौं,’ प्रचण्डले सन्देशमा भनेका छन् ।  

उनले यथास्थितिमै रुमल्लिन रहर र छुट नभएको पनि बताएका छन् । प्रचण्डले सिंहदरबार केन्द्रित अधिकार जनताको घर दैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

 ‘हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन् । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा/स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ,’ प्रचण्डले भनेका छन् । 

कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगीकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत/पसिना चुहाउने अवस्था नहटाइ साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने उनको भनाइ छ ।     





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १०:३५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया