Tue, 12 Nov, 2019


भिख होइन, न्याय चाहन्छौँ
रेशम चौधरी
फरकधार / पुस १९, २०७५

टीकापुरको दुर्घटनामा सहिद हुनुभएका एक बालकसहित सम्पूर्ण सुरक्षाकर्मीका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्छु ।



नेपालको राजनीतिक आन्दोलनको इतिहासमा हामीले कुनै गल्ती गरेका होइनौँ । र, हाम्रो कुनै दोष पनि छैन । राजनीतिक आन्दोलनको इतिहास र राजनीतिक आन्दोलनले कति वेला उचाइ लिन्छ, किन लिन्छ भन्ने कुराको अनुभूति लामो संघर्ष गरेर आएका सर्वमाननीय नेताज्यूहरुलाई छँदै छ ।

टीकापुरमा दुर्घटना भयो । टीकापुरमा राजनीतिक आन्दोलन भयो । टीकापुरमा ७ जनालो सहादत प्राप्त गरे । तर, त्यही स्थानका जनताले ३४ हजार ३ सय ४१ मतले रेशम चौधरीलाई विजयी गराए । 

हिजोसम्म जनप्रतिनिधिविहीन रहेको टीकापुरलाई आज साँच्चिकै दुःखेको छ । टीकापुरको वास्तविक धरातलमा पुगेर कसैले खोजपूर्ण कार्य गरेनन् । हामीलाई यसैमा दुःख छ । घरबार श्री–सम्पत्ति र थारुका घर तीनवटै सुरक्षा निकायको उपस्थितिमा जले ।

मैले २५ वर्ष मिडियामा काम गरेँ । मेरा हरेक कार्यक्रमको सुरुवातमा राष्ट्रिय गीत बजाउँथेँ । सायद नेपाली सांगीतिक इतिहासमै धेरैपटक राष्ट्रिय गीतमा संगीत गरेको सर्जक म पनि हु । 

मैले नेपाल र नेपालीका बीचमा विभेद देखिनँ । नेपालीको भावनालाई फरक देखिनँ । तर, टीकापुर घटनामा भने मानिसहरुमा संकीर्ण सोचाइ देखेँ । त्यही भएर आज टीकापुरलाई साँच्चिकै दुःखेको छ ।

टीकापुरका जनता के हुन् ? लोकतन्त्रले परिभाषित गर्नुपर्छ । ३४ हजार ३ सय ४१ जनताको जनमतको कदर हुन्छ कि हुँदैन ? जनताले गरेको न्यायलाई यो देशले कसरी नियालेको छ ?

स्थानीय जनमतले मलाई विजयी गरायो । यही जनमतको आधारमा रेशम चौधरी निर्दोष रहेको पुष्टि हुन्छ ।

मेरो प्रतिभा र मैले गर्ने देशप्रेम र समाज विकासको भावनाप्रति केही मान्छेको आहारिस थियो होला । आहारिसको प्रतिशोध यसरी साँध्नुहुँदैन ।  

मलाई लाग्छ, न्यायालयले हामीलाई न्याय दिनेछ, दिनुपर्दछ । म अझै पनि भन्छु, टीकापुर घटनाको विषयमा स्पष्ट र गहन छानबिन हुनुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ । मैले कहिले दोषी उम्किनुपर्छ भनेँ ? दोषी उम्किनुहुँदैन । 

आज रेशम चौधरीमाथि डाँका, चोरी मुद्दा लागेको छ । नेपालको इतिहासमा सबैभन्दा सानो उमेरमा गोरखा दक्षिण बाहु, बहुमुखी प्रतिभा पुरस्कार प्राप्त गरेको व्यक्ति हुँ म । मैले कहाँ, कुन ठाउँमा चोरी र डकैतीको काम गरेँ ?

राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रुपबाट हुनुपर्छ । टीकापुर नेपालकै एउटा भाग हो । त्यसलाई बनाउने जिम्मा पनि हाम्रै हो । प्रदेशको सीमांकनभित्र हामी छौँ । तँ–तँ र म–म गर्ने अवस्थामा हामी अहिले छैनौँ । हाम्रो काँधमा संघीयताको जिम्मेवारी छ ।

टीकापुर घटना सामाजिक सञ्जालमा जिस्कने विषय होइन । सहजै लिने विषय पनि होइन । यो एउटा वर्गीय, जातीय भावनालाई ठेस पुगेको घटना हो । आज पनि हाम्रा सयौँ साथीहरु निर्र्वासित छन् । दर्जनौँ साथीहरु जेलमा छन् । 

टीकापुरको घटना भइरहँदा म बर्दियामा थिएँ । घटनापछि म सिधै काठमाडौं आएर राजनीतिक दलसँग छलफल गरेर टीकापुर पुगेको थिएँ । सुरक्षाकर्मीकै गाडीमा धनगढी, टीकापुर पुगेँ । सुरक्षाकर्मीकै निगरानीमा म रातभर बसेँ । २४ घण्टा सुरक्षाकर्मीकै घेरामा बसेको मैले कति वेला षड्यन्त्र गरेँ ? कति वेला म षड्यन्त्रकारी भएँ ?

सामाजिक सञ्जालमा गाली गर्दा, हत्यारा भन्दा त मान्छेलाई एकछिनको लागि मजा आउँछ होला । तर, वास्तविक पीडा त हामी टीकापुरको चोटले दुख्नेलाई थाहा छ । 

आज टीकापुर उजाड छ । टीकापुरमा व्यापार छैन । टीकापुरको मान्छेका बीचमा सद्भाव छैन । अझै पनि टीकापुरमा एउटा वर्ग बजारमा जान डराउँछ । अर्को वर्ग गाउँमा जान डराउँछ । आज टीकापुरमा सयौँ बिगाह जमिन बाँझै छ । यसका निमित्त राज्य बोल्नुपर्छ कि पर्दैन ?

हामी न्यायालयबाट न्याय चाहन्छौँ कि भिख चाहन्छौँ ? रेशम चौधरी भिख चाहन्न, न्याय चाहन्छ । हामीलाई न्यायको आँखाले हेर्दिनुस् । आज साढे ३ वर्ष भयो, हामी पुर्पक्षका लागि जेलमा छौँ । 

कानुन भन्छ, एक वर्षभन्दा बढी पुर्पक्षको लागि थुनामा राख्नुहुँदैन । त्यसकारण, हामीलाई न्याय दिनुहोस् । दोषी भए दोष प्रमाणित गरिदिनुहोस् ।  

राजनीति गर्ने मान्छेलाई देशका लागि टेबल टक गर्न अलिकता सहज होला । तर, समाज र वर्ग मिलाउनु अत्यन्त कठिन छ । मेरा दाजुभाइ, दिदीबहिनी र मेरा मतदाताले मलाई न्याय दिएका छन् । तर, अब न्यायालयले पनि न्याय दिनुपर्छ ।

अहिले टीकापुर घटनामा झुटा मुद्दा लगाइएका साथीहरु टीकापुर घटना हुँदा रिक्सा चलाइरहेका थिए, मेडिकलमा औषधि बेचिरहेका थिए, स्कुलमा पढाइरहेका थिए । यस्ता साथीहरुले न्याय पाउनुपर्छ ।

हामीसँग पनि हाम्रा घर जलाइएका भिडियो छन्, तस्बिर छन् । तर पनि हामीले यसलाई वैमनस्यको रुपमा लिएका छैनौँ । यसलाई राजनीतिक रुपमा निराकरण गर्नुपर्छ । 

मैले भर्खरै मात्र संसद्को लोगो लगाएको छु । सभामुखज्यूले मलाई शपथ गराउनुभएको छ । एकजना सांसदलाई शपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ? यो लोगोले बोल्ला । यो लोगोको सम्मान के हो ? यो लोगोले  प्रतिनिधिसभा र राष्ट्रिय सभामा सहभागी हुने सदस्यहरुको कति इज्जत राख्छ ? यो राज्यले बोल्ला, संसद्ले बोल्ला ।

शान्ति नभई मुलुकमा समृद्धि आउँदैन । मुलुकमा समृद्धि ल्याउनका निमित्त जनतालाई न्याय दिनुपर्छ । र, हामी त्यही न्यायको पर्खाइमा छौँ । हामी वैमनस्य चाहन्नौँ । हामी द्वन्द्व चाहन्नौँ । हामी माथि पनि चाहन्नौँ, तल पनि चाहन्नौँ । हामी समानता चाहन्छौँ । 

प्रवासमा बसेर पकौडा खाएर दिनभरिको भोक मेटाउनुभन्दा मलाई मेरै देशको दालभात मनपर्यो । त्यसकारण, म मेरै मुलुकमा फर्किएँ र जेलमा बन्द भएँ । अहिले पनि म यो माला, खादा र संसद्को लोगो लगाएर जेल जाँदै छु । मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ, कति रहन्न ?

(बिहीबार प्रतिनिधिसभा सदस्यका रुपमा शपथ ग्रहण गरेपछि पत्रकारहरुसँग सांसद रेशम चौधरीले गरेको कुराकानीको संपादित अंश)

याे पनि पढ्नुहाेस्:
‘संसद्को लोगो लगाएर जेल लैजाँदा के संसद् र लोकतन्त्रको गरिमा बढ्ला ?’ 



यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्