एमाले र माओवादी कार्यकर्ताले हाम्रा उम्मेदवारमाथि आक्रमण गरे : राप्रपा

राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबेला नगरपालिका–४ का वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । चुनाव प्रचारप्रसारका क्रममा मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै राप्रपाले निन्दा र भर्त्सना गरेको छ । 

‘स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेको बेला धनुषा जिल्लाको सबेला नगरपालिका–४ का राप्रपाका वडा सदस्यका उमेदवार समशुल राइन मिया माथि नेकपा एमालेद्वारा भएको सांघातिक हमलाको घोर निन्दा एवं भत्सर्ना गर्दछौं,’ राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मियामाथि सांघातिक आक्रमण गर्नेलाई पक्राउ गर्न र आक्रमण परी घाइते भएकाको उपचार व्यवस्था गर्न राप्रपाले माग गरेको छ । ‘घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 

एमालेले मियालाई उम्मेदवारी फिर्ता लिन दिएको दबाब अस्वीकार गर्दा एमाले कार्यकर्ताले उनको परिवारमाथि भएको आक्रमण घृणित, लज्जास्पद र दुःखदायी रहेको राप्रपाले भनेको छ । 

‘राप्रपाको नीति, विचार, सिद्धान्तको प्रवर्द्धन र आफ्नो चुनावी प्रतिबद्धता घरदैलो गर्दै मतदाता सामु गइरहेको अवस्थामा मियामाथि एमालेले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि उनी र उनको सात जना परिवारका सदस्यमाथि सांघातिक हमला भएको घटना घृणित, लज्जास्पद र दुःखदायी छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन् । 

रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिका वडा नं–१ मा राप्रपाका वडा अध्यक्ष पदका उमेदवार लिलिबिर बिसीको चुनाव प्रचारका क्रममा माओवादीले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उमेदवारलाई लछारपछार गरिएको भन्दै राप्रपाले सो घटनाप्रति दुःख प्रकट गर्दै भर्त्सना गरेको छ । 



राप्रपाले भयरहित निर्वाचनको वातावरण बनाउन राप्रपा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।  



  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार ११:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया