३० गतेपछि पाँच दलीय गठबन्धन बागमतीमा सलल : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन बैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन्  । 

सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्धारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गरे । यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो । ३० गतेपछि पाँच दलीय गठबन्धन बागमतीमा सलल बग्ने समेत बताए ।

‘शेरबहादुर देउवालाई सोध्नुस त– यो गठबन्धन के हो भनेर ? उहाँ आफैँले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नु हुन्छ । प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन् । माधव नेपालले अर्कै भन्लान् । यिनीहरुको गन्तव्य नै केही छैन । भोलि कता जाने हो ? केही थाहा छैन यिनीहरुलाई । शेरबहादुरजीले प्रधानमन्त्री चिनेको छ । पोखरा गएर भनिहाल्नु भयो नि– गठबन्धन नभएको भए प्रधानमन्त्री हुन्थ्ये भनेर । अब ३० गतेपछि यो पाँच दलीय गठबन्धन बागमतीमा सलल । अब गठबन्धन चल्नेवाला छैन । यो गन्तव्य नभएको, हाटहुट, लाटलुटमा चलेको गठबन्धन हो । यसले हाम्रा पार्टीका कार्यकर्तालाई गुण्डागर्दीको शैलीमा हमला गर्छ । जनतालाई तर्साउने काम मात्रै गर्छ, निर्वाचनको बेलामा’ उनले भने ।

ओलीले मुलुकमा लुटलाट र हाटहुट गर्न सत्तारुढ गठबन्धन बनेको गम्भीर आरोप समेत लगाए । उनले निर्वाचनको बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारुढ दलहरुबाटै भएको भन्दै आक्रोश व्यक्त गरे । सत्तारुढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि ओलीले दोहोर्‍याए ।





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १९:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया