शपथपछि रेशम चौधरीले उठाएका सवाल

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई आज प्रतिनिधिसभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ खुवाइयो । 

सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको कक्षमा भएको शपथ ग्रहण कार्यक्रममा चौधरी ढाकाटोपी, चस्मा र ढाकाको दौरा सुरुवालमा उपस्थित भए ।

शपथ ग्रहण कार्यक्रमा सुरुमा खुसी देखिएका चौधरी शपथपछि भने केही मलीन देखिए । डिल्लिबजार जेलबाट प्रहरीको गाडीमा सिंहदरबार पुगेका चौधरी औपचारिक रुपमा सांसद भइसकेपछि पनि फेरि प्रहरीको गाडी चढेर जेल गए ।

चौधरीको शपथ ग्रहण कार्यक्रममा पत्नी रञ्जिता चौधरी र छोरा आभूष चौधरी पनि उपस्थित थिए ।

शपथपछि खादा, अबिर र मालाले ढाकिएका चौधरी केहीबेर पत्रकारसँग गफिए । पत्रकारसँगको गफमा चौधरीले आफू निर्दोष रहेको कुरा बारम्बार दोहोर्याए ।

टीकापुरलाई लामो समयसम्म जनप्रतिनिधिविहीन बनाएको भन्दै उनले भने, ‘हिजोसम्म जनप्रतिनिधिविहीन रहेको टीकापुरलाई आज साँच्चिकै दुःखेको छ ।’



शपथ खाइसकेपछि अबिर–मालाले रंगिएका चौधरी सांसदको लोगो लगाएरै कारागारका लागि पुलिस भ्यान चढेका थिए । 

आफूलाई सांसदको शपथ गराएर पनि जेल चलान गरी टीकापुरवासीको मतको अपमान गरेको बताउँदै चौधरीले भने, ‘टीकापुरका जनता के हुन् ? लोकतन्त्रले परिभाषित गर्नुपर्छ । ३४ हजार ३ सय ४१ जनताको जनमतको कदर हुन्छ कि हुँदैन ?’ 



टीकापुरवासीले आफूलाई चुनाव जिताएर न्याय गरे पनि न्यायालय र सरकारले भने आफूलाई अन्याय गरेको बताउँदै चौधरीले देशलाई नै प्रश्न गरे, ‘जनताले गरेको न्यायलाई यो देशले कसरी नियालेको छ ?’

टीकापुर घटनाको वास्तविक छानबिन नभएको र घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित गरिएकोतर्फ संकेत गर्दै उनले भने, ‘टीकापुरको वास्तविक धरातलमा पुगेर कसैले खोजपूर्ण कार्य गरेनन् ।’ आक्रोशित हुँदै चौधरीले थपे, ‘टीकापुर घटना सामाजिक सञ्जालमा जिस्कने विषय होइन । वर्गीय, जातीय भावनालाई ठेस पुगेको घटना हो ।’

पत्रकारसँग बोल्दाबोल्दै भावुक बनेका चौधरीले टीकापुर घटनालाई लिएर सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्तिले टीकापुर घटना पीडितको मन दुःखेको कुरा पनि सुनाए । 

टीकापुर घटनाले थारु समुदायको आत्मसम्मानमा चोट पुगेको बताउँदै चौधरीले थारु समुदाय अझै न्यायको पर्खाइमा रहेको सुनाए । वैमनस्य र द्वन्द्वभन्दा पनि थारु समुदायले समानता चाहेको उनले बताए । 

प्रहरी र पत्रकारको भिडबीच घेरिएका चौधरीले प्रहरीको गाडी चढ्नुअघि आफू न्यायका लागि नेपाल फर्किएको भए पनि जेल जानुपरेकाले दुःख लागेको सुनाए । सांसदको लोगोसहित जेल जाँदा संसद्को प्रतिष्ठामै आँच पुग्ने हो कि, भन्ने चिन्ता पनि उनले व्यक्त गरे । 

चौधरी प्रहरीको गाडीमा जेलतर्फ लाग्दा पत्नी रञ्जिता एकोहोरो उनी गएतर्फ हेर्दै थिइन् । टिलपिल आँखा बनाएर उभिएकी उनलाई पत्रकारको भिडले छोपेपछि भने उनी मुस्कुराउँदै बोल्न थालिन् । 

बिहान समाचार पढेर मात्रै आफ्ना पतिलाई शपथ गराउन लागिएको थाहा पाएको उनले सुनाइन् । समाचार पढ्दा पत्यार नलागेपछि नातेदार र नेताहरुलाई फोन गरेर कन्र्फम गरेको रञ्जिताले सुनाइन् । निर्वाचित भएको एक वर्षपछि शपथ ग्रहण गरेका चौधरी छिट्टै सामान्य जीवनमा आउने विश्वास लागेको उनले सुनाइन् ।  

२०७२ भदौमा टीकापुरमा चलेको आन्दोलनका क्रममा भएको हिंसामा चौधरीसहित ५६ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका–चोरी मुद्दा लागेको छ । अहिले २५ जना जिल्ला कारागार कैलालीमा छन् भने बाँकी फरार छन् । 

टीकापुर घटनापछि भारतमा लुकेर बसेका चौधरीले भारतबाटै चुनाव लडेका थिए । उनको चुनावी प्रचारप्रसार पनि पत्नी र छोराले गरेका थिए ।

निर्वाचन जितिसकेपछि पनि नेपाल नआएका चौधरीले २०७३ मा भारतमै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । त्यसपछि, चौधरीले २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसर्मपण गरेका थिए ।

कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि चौधरीले कारागारमै अनशन सुरु गरेका थिए । टीकापुर घटनाको झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाणपत्र दिनुपर्ने र प्रतिनिधिसभा सदस्यको शपथ खान पाउनुपर्ने माग राखेर चौधरीले अनशन सुरु गरेका थिए । एक वर्षअघि चौधरीले राखेको एउटा माग आज पूरा भएको छ । 

शपथपछि उनी औपचारिक रुपमै सांसद भएका छन् । तर, कतिपयले भने चौधरीलाई प्रतिनिधिसभा नियमावली २०७५ को विपरीत शपथ गराएको भन्दै आलोचना गरेका छन् ।

नियमावली के भन्छ ?

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ (३) मा लेखिएको छ–

संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निजका पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ ।


  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार २०:३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया