गृहनगर पुगेर ओलीले भने– एमालेसँग लड्न नसकेर गठबन्धन बनाए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गरे ।

गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको ओलीले बताए । विकास रोक्नु, सुशासन हुन नदिनु, स्थायित्व र स्थिरता देशमा हुन नदिनु गठबन्धनको उद्देश्य भएको उनको भनाइ थियो ।

उनले प्रजातन्त्र पुनर्स्थापनापछिको ३० वर्षमा कांग्रेस एक्लैले २० वर्ष र अरूसँग मिलेर गरी २० वर्ष देश चलाउँदा पनि केही विकास गर्न नसकेको दाबी गरे । उनले कांग्रेसले केही गर्न नचाहेको बताए ।

‘ढलेको धरहरा हामीले उठायौँ । तर, सेतो भ्युटावर भन्दा केही पनि हैन रे । उनीहरू हरेक कुरालाई नकारात्मक ढंगले हेर्छन् । धरहरा बनेकोमा पीर परेको छ,’ ओलीले भने, ‘रानीपोखरी बनेकोमा पीर परेको छ । पुनर्निर्माण भएकोमा पीर परेको छ । पुरातात्विक महत्त्वका सामग्री निर्माण भएको र नौ लाख भूकम्प पीडितलाई घर बनाइदिएकोमा पीर परेको छ । मदन भण्डारी राजमार्ग र हजारौँ पुल बनेकोमा पीर परेको छ ।’

उनले हुलाकी राजमार्गअन्तर्गत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा मात्र २७ वटा पुल बनेकाले के भनेर भोट मागेर जाने भन्नेमा संकट परेको पनि बताए । ओलीले कांग्रेसलाई लोकतन्त्रको बाटोमा फर्कन आग्रह गरे ।

‘कांग्रेसलाई अझै पनि लोकतन्त्रको बाटोमा फर्कनसचेत गराउन चाहन्छु । लोकतन्त्रविरोधी अनेक जालझेल नगर्नुस् । संसदबाट सरकार बनाउने बाटोमा फर्कनुस् । जालझेल गरेर अदालतमा सेटिङ मिलाएर परमादेशबाट प्रधानमन्त्री खाने कुबुद्धि नआओस्,’ ओलीले भने, ‘कमसेकम हामीले प्रतिस्पर्धी त पाउँ । यहाँ त प्रतिस्पर्धी नै नहुने भयो । एमालेलाई अगाडिबाट देख्यो कि भागा भाग । चुनाव आयो कि, सरकार चलाउन पर्‍यो कि सबै धुरिन्छन् ।’



उनले कांग्रेस एमालेविरुद्ध जे भेट्यो त्यही बोक्ने अवस्थामा पुगेको दाबी गरे । ‘कहीँ राप्रपा, कहीँ प्रचण्ड त कहीँ माधव नेपाल बोकेका छन्,’ ओलीले भने, ‘कांग्रेस एमाले विरुद्ध जो भेट्यो त्यही बोक्ने अवस्थामा पुग्यो ।’

उनले दमकको विकासका लागि एमाले नै चाहिने बताए । एमालेकै नेतृत्वले दमक विश्वमा चिनिएको दाबी गरे । ‘एमालेको लाल किल्ला दमकमा एमालेलाई पाँच दलीय गठबन्धनले नभएर राप्रपासहितको ६ दलीय गठबन्धन बनाएका छन्,’ उनले भने, ‘दमकमा पार्टी नहेर्नुस्, विकासका लागि एमालेलाई जिताउनुस् ।’



  • प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार १५:२४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया