मार्श चम्किँदा राजस्थानमाथि दिल्लीको शानदार जित, प्लेअफ सम्भावना जीवितै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स आठ विकेटले विजयी भएको छ । यो जितसँगै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । उसले १२ म्याच खेल्दा ६ मा जित र ६ खेलमै हारको सामना गरेको छ ।

आफ्नो १२ औं खेलमा राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि मिचेल मार्शले शानदार ब्याटिङ गरे । ६२ बलमा सात छक्का र पाँच चौका हिर्काएका उनले ८९ रनको आक्रामक पारी खेले । 

त्यस्तै, डेविड वार्नरले ४१ बलमा पाँच चौका र एक छक्काको सहयोगमा अविजित ५२ रन बनाए । उनी र मार्शबीच तेस्रो विकेटका लागि १०१ बलमा १४४ रनको साझेदारी बन्यो । यो जोडीकै विशाल साझेदारीका कारण दिल्ली सहजै विजयी भयो । 

त्यस्तै, कप्तान ऋषभ पन्तले ४ बलमा दुई छक्का हिर्काउँदै अविजित १३ रन बनाए । राजस्थानका लागि युजवेन्द्र चहल र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए । त्यसअघि मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो ।

उसका लागि अलराउन्डर रविचन्द्रन आश्विनले उत्कृष्ट पारी खेले । उनले ३८ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाए । आइपिएलमा आश्विनको यो पहिलो अर्धशतक हो । देवदत्त पाडिक्कलले ३० बलमा ६ चौका र दुई छक्काको मद्दतमा ४८ रनको योगदान दिए ।

यशस्वी जैसवाल १९, रियान पराग नौ, जोस बटलर सात र कप्तान सञ्जु सामसन ६ रनमा आउट भए । रस्सीभानडर दुसेन १२ रनमा अविजित रहे । दिल्लीका लागि चेतन सकारिया, एनरिक नोर्टजे र मिचेल मार्शले दुई/दुई विकेट लिए ।



यो जितसँगै दिल्ली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । प्लेअफ पुग्न दिल्लीले बाँकी दुई खेलमा जित्नैपर्ने हुन्छ । यता राजस्थान हारका बाबजुद पनि तेस्रो स्थानका कायमै छ । उसले १२ म्याचमा सातमा जित र पाँच खेलमा हार बेहोरेको छ । 
 



  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार ६:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया