स्थानीय तह निर्वाचन : १ लाख ४५ हजार ११ को उम्मेदवारी, १ करोड ७७ लाख ३३ हजारले दिनेछन् भोट
सवारीसाधन चलाउन रोक
फाइल तस्बिर

निर्वाचन आयोगले भोलि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुन लागेको स्थानीय तह सदस्य निर्वाचन-२०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य  पनि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । 

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ । यी ठाउँबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्ने छन् । 

मतदानमार्फत कुल ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट हुने छन् ।

आयोगका अनुसार मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । 



स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् । 

५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।



निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख निर्वाचन आयुक्त, प्रमुख प्रतिपक्षी दलका नेता लगायतले सन्देश जारी गर्दै निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् ।

त्यस्तै, गृह मन्त्रालयले पनि स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

सवारीसाधन चलाउन रोक

त्यस्तै, शुक्रबार बिहान ६ बजेदेखि सवारीसाधन चलाउन रोक लगाइएको छ ।  निर्वाचनका बेला अप्रिय घटना नहोस भनेर प्रहरीले बिहान ६ बजेदेखि मतदान नसकिने बेलासम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको जनाएको हो ।

यो अवधिमा पास लिएका र अत्यावश्यक सवारी साधन चाहिँ सञ्चालन हुनेछन् । त्यस्तै पत्रकारलाई निर्वाचनको दिन समाचार संकलन तथा प्रशारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ । 

सरकार तथा प्रदेश सरकारका आधिकारिक निकायबाट जारी भएका पत्रकार परिचय पत्रबाहकलाई छुट्टै सवारी पासबिना आवतजावत गर्ने व्यवस्था गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

  • प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार २१:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया