बझाङको चार पालिकामा तत्काल मतगणना सुरु नहुने
फरकधार / ३१ बैशाख, २०७९

बझाङको चार स्थानीय तहमा मतगणना सुरु हुन ढिलाइ भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा मतगणना सुरु हुन ढिलाइ भएको हो । शुक्रबार मतदानका क्रममा विवाद हुँदा यी पालिकामा समयमै मतगणना सुरु हुन नसेकेको हो ।



छबिसपाथिभेरा गाउँपालिका–६ मा आफ्ना वडाध्यक्षका उम्मेदवारलाई कुटपिट गरेर एकलौटी मतदान गरेको भन्दै नेकपा एमालेले पुनः मतदान गर्न माग गरेको छ । त्यहाँ मतगणना हुन नसकेको छबिसपाथिभेरा–१ वडाध्यक्ष नैन बोहराले बताए ।

जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित सुनिपिपल मावि मतदानस्थलमा नेकपा माओवादीका एजेन्टले मतपेटिका कब्जा गर्न खोजेपछि उत्पन्न झडपले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै मतदान स्थगित भएको छ । सोही कारण मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिए । 

यस्तै, केदारस्यूँ गाउँपालिका–४ स्थित जगन्नाथ माविमा स्वतन्त्र उम्मेदवारका आफन्तले फर्जी मत खसालेको भन्दै उत्पन्न विवादले त्यहाँ पनि पुनः मतदान हुने भएको छ । यता सुर्मा गाउँपालिका–२ को आधाबगर मावि मतदानस्थल र ३ को कृष्ण मावि काटैमा एमाले र कांग्रेस कार्यकर्ताबीचको झडपले मतदान स्थगित भएको छ । 



पुनः मतदान गरेपछि मात्रै मतगणना गर्ने तयारी भइरहेको एमाले गाउँपालिका उपाध्यक्ष उम्मेदवार माता बोहराले जानकारी दिइन् । 
 

  • प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार ८:४९:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया