गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव संकलन

म्याग्दी- गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रबार म्याग्दीका सरोकारवालाबाट सुझाव संकलन गरेको छ । 

बेनीमा छलफल कार्यक्रमको आयोजना गरेर प्रदेशका सांसद, जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र सरोकारवालाबाट सुझाव संकलन गरेको हो । 

छलफलका क्रममा म्याग्दी जिल्लाको समग्र विकासको अवस्था, समस्या, चुनौती, सम्भावना र समस्याको समाधानका उपायको विषयगत रूपमा लिखित सुझाव संकलन गरिएको छ । 

सहभागीले म्याग्दीको पर्यटन, जलविद्युत्, कृषि, पशुपालन र वनपैदावारको क्षेत्रमा रहेको सम्भावनालाई गरीबी निवारण, आयआर्जन वृद्धि र जीवनस्तर रुपान्तरणमा मद्दत पुग्ने किसिमका योजना तथा कार्यक्रम तय गर्न सुझाव दिएका छन् । 

म्याग्दीको सम्भावनालाई विकास र आयआर्जनमा रुपान्तरणका लागि पूर्वाधार निर्माण र सामाजिक विकासमा प्राथमिकता दिन सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । भौगोलिक विकटता, सामाजिक पछौटेपन, बसाइँसराइका कारण उत्पन्न जटिलताको समाधानमा प्राथमिकता दिनुपर्ने सुझाव रहेको छ । 

कार्यक्रममा गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशको वस्तुगत धरातलमा आधारित रहेर सरोकारवालाको सुझावअनुसार पञ्चवर्षीय योजना बनाउन लागिएको बताए । गण्डकी प्रदेशका सांसद विनोद केसीले आवश्यकता र समस्याका आधारमा तय गरिएका योजना, नीति र कार्यक्रममा अपनत्व महसुस भई प्रभावकारी कार्यान्वयमा सघाउ पुग्ने भएकाले सुझाव संकलन गरिएको बताए । 

आयोगका अध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले सरोकारवालाको सुझाव र विषयवस्तुलाई प्रदेशको नीति, योजना र बजेटमा समेटिने बताए ।





  • प्रकाशित मिति : पुस २१, २०७५ शनिबार ११:२६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया