रसेल चम्कदा कोलकाताको शानदार जित, प्लेअफ सम्भावना जीवितै

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएरातिको खेलमा कोलकता नाइट राइडर्स (केकेआर) विजयी भएको छ । ऊ सनराइजर्स हैदराबादलाई ५४ रनले हराउँदै विजयी भएको हो । यो जितसँगै कोलकाताले प्लेअफको सम्भावना जीवितै राखेको छ । उसले १३ म्याच खेल्दा सातमा हार र ६ खेलमा जित हात पारेको छ ।

यदि अब अन्तिम खेल जिते कोलकाता नेट रनरेटका आधारमा प्लेअफ पुग्न सक्छ । तर, उसलाई यसपालि अन्तिम चारमा पुग्न निकै कठिन छ । किनकी कोलकाताभन्दा अगाडि रहेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले १४/१४ अंक जोडिसकेका छन् । त्यस्तै, लखनउ सुपर जायन्ट्स १६ अंकका साथ लगभग प्लेअफ प्रवेश गरिसकेको छ ।

साथै, दिल्ली, पञ्चाब र हैदराबादको पनि समान १० अंक छ । यी तीन टिमले अझै दुई/दुई म्याच खेल्न बाँकी नै छ । हारका बाबजुद हैदराबादले प्लेअफ सम्भावना भने जीवितै राखेको छ । उसले १२ खेलमा सातमा हार र पाँच खेलमा जित हात पारेको छ ।

आफ्नो १२ औं खेलमा १७८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । उसका लागि अभिषेक शर्माले सर्वाधिक ४३ रन बनाए । उनले २८ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

एडेन मर्क्ररम ३२ रन र शशांक सिंहले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अकंमा रन बनाउन सकेनन् । कोलकाताका लागि आन्द्रे रसेलले तीन, टिम साउदीले दुई तथा उमेश यादव, सुनिल नारायण र वरुण चक्रवर्तीले एक/एक विकेट हात पारे ।

त्यसअघि पुणेस्थित महाराष्ट्र क्रिकेट संघ मैदानमा टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । 



उसका लागि आन्द्रे रसेलले अविजित ४९ रनको योगदान दिए । उनले २८ बलमा चार छक्का र दुई  चौका प्रहार गरे । साम बिलिंग्सले ३४, अजिक्य रहाणेले २८, नितिश राणाले २६ र कप्तान श्रेयस अय्यरले १५ रन जोडे ।

हैदराबादका लागि उमरान मलिकले तीन, भुवनेश्वर कुमार, मार्को जानसन र टी नटराजनले एक/एक विकेट हात पारे । एक विकेट भने उसलाई रन आउटको रूपमा प्राप्त भयो ।



जितसँगै कोलकाताले १३ खेलमा १२ अंक जोड्दा पराजित हैदराबादको १२ खेलबाट १० अंक छ । 

  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ७:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया