सुदूरपश्चिममा कांग्रेस–एमाले तीन\तीन र माओवादी दुई स्थानीय तहमा विजयी
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ७ वटा स्थानीय तहमा मत गणना सम्पन्न भएका छन् । सम्पन्न भएका स्थानीय तहमा नेपाली कांग्रेसले तीन, नेकपा एमालेले तीन र नेकपा माओवादी (केन्द्र) ले दुई स्थानीय तहमा जित हात पारेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका हुन् । 

कार्कीले ३ हजार १ सय ८४ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस विपीका उम्मेदवार सुरेन्द्रबहादुर मालीले १ हजार ६ सय ५ मत पाए । 

यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै सेठीले ३ हजार १३ मत पाइन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर महराले १ हजार ७ सय ३ मत पाए । यहाँ कांग्रेस विपी र नेकपा एमालेले गठबन्धन गरी नेपाली कांग्रेससँग प्रतिस्पर्धा गरेको थियो ।

डोटीको बडिकेदार गाउँपालिकामा पनि नेपाली कांग्रेसले विजयी हात पारेको छ । यहाँ अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा डम्मरीकुमारी विष्ट विजयी भएका हुन् । 

साउँदले २ हजार ३ सय ४३ मत ल्याउँदै जित हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले एक हजार ६ सय ८४ मत पाए । 



उपाध्यक्षमा कांग्रेसकी विष्टले दुई हजार चार सय ७ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सपना सिराडीले दुई हजार दुई सय ७६ मत पाएकी थिइन् ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र उपाअध्यक्षका दुबै उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसबाट अध्यक्ष भरतबहादुर रोकाया र उपाध्यक्ष मैना जोशी विजयी भएका हुन् ।



रोकायाले २ हजार ११ मत ल्याएर विजयी भएका छन् । रोकाया प्रतिद्वन्द्वी नेकपा एमाले चतुरभुज शाहीले १७ सय ५७ सय मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका चिरञ्जीवी शाहीले १२ सय ८२ र स्वतन्त्र उम्मेदवार विमल बहादुर शाहीले ३१ मत ल्याए ।

त्यस्तै, निर्वाचित उपाध्यक्ष मैना जोशीले १८ सय १० ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकाया १२ सय १३ र स्वतन्त्र उम्मेदवार बिर सिं बिकले ४१ मत ल्याएका छन् ।

यस्तै, बझाङका दुई स्थानीय तहमा नेकपा एमालेले जित हात पारेको छ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्, उनी दुई हजार सात सय ७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।  

रोकायाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ मत पाएका थिए । यस्तै उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राम खाती विजयी भएका छन् । 

खातीले ३ हजार १ सय ५० मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी रावलले २ हजार ५ सय ८७ मत पाएकी थिइन् ।

यस्तै, बझाङकै साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मानबहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका उज्वल बोहराले ६ सय १३ मत ल्याएका थिए । 

गाउँपालिका उपाध्यक्षतर्फ नेकपा एमालेका डोल्मा तामाङले ६ सय ७५ मतसहित विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी बाटु बोहराले ६ सय १९ मतसहित पराजित भइन् ।

यस्तै, दार्चुलाको अपी हिमाल गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी (केन्द्र) का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) र उपाध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएका छन् । 

ठेकरेले २ हजार ३ सय ४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धर्मानन्द मन्यालले १ हजार ३ सय ८५ मत पाएका थिए । 

यस्तै, उपाध्यक्षमा बोहराले २ हजार २७ मत ल्याएकी थिइन् भने प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएर पराजित भइन् ।

यस्तै, दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दलजित धामी अध्यक्षमा ३ हजार ५९८ मत प्राप्त गरी विजयी भएका छन् । एमालेका उम्मेदवार प्रेमसिंह धामीलाई हराउँदै उनी विजयी भएका हुन् । एमालेका धामले ३ हजार १९१ मत मात्रै पाएका थिए । 

त्यस्तै, उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३७६७ मतसहित विजयी भएकी छन् । एमालेकी गौरीदेवी ठगुन्नाले २८६७ मत प्राप्त गरेकी छन् ।

यस्तै, दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । एमालेबाट मेयरमा नरसिंह चैसिर र उपमेयरमा दुर्गा कुमारी खत्रीले जित हात पारेका हुन् । उनीहरु गठबन्धनका तर्फबाट साझा उम्मेदवार हंशराज भट्ट र सुना बोहरालाई पराजित गर्दै विजयी भएका हुन् ।

  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १८:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया