सुर्खेतका ४ स्थानीय तहमा प्रमुख र ३ उपप्रमुखमा कांग्रेसको अग्रता

पाँच दलीय सत्ता गठबन्धनले सुर्खेतको राजनीतिलाई छोएन । दलका शीर्ष नेताहरुले कर्णालीका १० जिल्लामा गठबन्धन गरेर जाने निर्णय गरे पनि जिल्लामा भने सबै दलले स्थानीय निर्वाचनमा आ–आफ्नै उम्मेदवार उठाएका थिए । 

उम्मेदवारी फिर्ताको अन्तिम समयमा भने केही दलले गठबन्धनको स्वरुपमा सुर्खेतका केही पालिकामा आफ्ना उम्मेदवारको मनोनयन फिर्ता गराएका थिए ।  

जिल्लाका विभिन्न स्थानमा स्थानीय निर्वाचनको मतगणना भइरहेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनले सुर्खेतका स्थानीय तहमा कांग्रेसको मतभार धेरै रहेको देखाएको छ । 

जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तहको प्रमुख र तीन स्थानीय तहको उपप्रमुख पदमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । कांग्रेसपछि दोस्रो स्थानमा एमाले छ । 

सुर्खेतका दुई स्थानीय तहमा प्रमुख र तीन स्थानीय तहमा उपप्रमुख पदमा एमालेले अग्रता कायमै राखेको छ । यसैगरी माओवादी केन्द्रले जिल्लाका दुई स्थानीय तहमा प्रमुख र दुई स्थानीय तहमा उपप्रमुख पदमा अग्रता कायम राखेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिकामा कांग्रेसका उम्मेदवार हस्त पुन र मैना विकले पाएको मत अग्रतामा छ । नगरपालिकाको प्रमुख पदका उम्मेदवार पुन तीन हजार २७३ मतका साथ अग्रतामा छन् । उनका प्रतिद्वन्द्वी तिलकबहादुर खत्री (एमाले)ले दुई हजार ९१६ मतकासाथ दोस्रो स्थानमा छन् ।



यसैगरी उपप्रमुख पदकी उम्मेदवार विक कुल तीन हजार २६८ मतका साथ अगाडी छिन् । सोही पदमा एमालेकी उम्मेदवार तथा उनकी प्रतिद्वन्द्वी सुशीलाकुमारी विश्वकर्मा (सुनार) दुई हजार ८८८ मतका साथ दोस्रो स्थानमा छिन् ।

चिङगाड गाउँपालिकामा एमालेले दुवै पदमा अग्रता लिइरहेको छ । गाउँपालिकाको अध्यक्ष पदमा एमालेबाट बोधविक्रम जिसी एक हजार २१५ र उपाध्यक्षमा मीनाकुमारी रोकाया एक हजार तीन सय ४२ मतका साथ अग्र स्थानमा छन् । यहाँ कांग्रेस भने दोस्रो स्थानमा छ । 



कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डोरप्रसाद शर्मा एक हजार १६७ र उपाध्यक्ष पदकी उम्मेदवार मनमाया आचार्य एक हजार १५१ मतका साथ दोस्रो स्थानमा छन् ।

चौकुने गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्र र उपाध्यक्ष पदमा कांग्रेसको अग्रता छ । 

पालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका खड्क विक ६५७ मतले अग्र स्थानमा छन् । एमालेका हरिप्रसाद अधिकारी २९४ मतका साथ दोस्रो स्थानमा छन् । 

यसैगरी उपाध्यक्ष पद तर्फ कांग्रेसका नरबहादुर बान्तोला ६०० मतका साथ अग्र स्थानमा छन् भने एमालेकी निर्मला मगर २८७ मतका साथ दोस्रो स्थानमा छिन् ।

पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले दुवै पदमा अग्रता लिएको छ । नगरपालिकाको प्रमुख पदमा कांग्रेसका उम्मेदवार लालवीर भण्डारी दुई हजार ४५१ मतका साथ अग्रतामा छन् । एमालेका उम्मेदवार धनबहादुर थापा भने दुई हजार ३४ मतका साथ दोस्रो स्थानमा छन् । 

यसैगरी उपप्रमुख पदमा कांग्रेसकी उम्मेदवार मुक्तिदेवी रेग्मी दुई हजार २९९ मतका साथ अग्र स्थानमा छिन् । सोही पदमा एमालेकी उम्मेदवार दुर्गाकुमारी जैशी भने एक हजार ९४७ मतका साथ दोस्रो स्थानमा छिन् ।

बराहताल गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेस र उपाध्यक्ष पदमा माओवादी केन्द्र अगाडी देखिएको छ । यस स्थानमा कांग्रेसबाट अध्यक्षका उम्मेदवार भीमबहादुर भण्डारी एक हजार तीन सय ३५ मतका साथ अग्र स्थानमा छन् । 

यसैगरी माओवादीका ईश्वरभक्त सुनार एक हजार ३३५ मतका साथ दोस्रो स्थानमा छन् । यस गाउँपालिकामा एमाले ९४९ मतका साथ तेस्रो स्थानमा छ । गाउँपालिकाको उपाध्यक्ष पदमा भने माओवादी केन्द्रकी भूमिसरा टोमटा एक हजार ३२८ मतका साथ अग्र स्थानमा छिन् । 

कांग्रेसकी लक्ष्मी पुन मगर एक हजार १४८ मतका साथ दोस्रो र एमालेकी दुर्गाकुमारी विष्ट एक हजार २४ मतका साथ तेस्रो स्थानमा छिन् ।

भेरीगंगा नगरपालिकाको प्रमुख पदमा कांग्रेस र उपप्रमुख पदमा माओवादी केन्द्रले अग्रता लिइरहेका छन् ।

नगरपालिकाको प्रमुख पदमा कांग्रेसका उम्मेदवार रामबहादुर सिंह एक हजार ७९४ मतले अगाडी छन् । एमालेका यज्ञप्रसाद ढकाल एक हजार ४२७ मतका साथ दोस्रो स्थानमा छन् । 

यसैगरी भेरीगंगा नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रका नन्दबहादुर कार्की एक हजार ८७५ मतका साथ अग्र स्थानमा छन् । एमालेकी धनसरा बोहरा भने एक हजार २०८ मतका साथ दोस्रो स्थानमा छिन् ।

लेकवेशी नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा एमालेले अग्रता लिएको छ । नगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवार देवबहादुर राना ८८३ मतका साथ अग्र स्थानमा छन् । कांग्रेसका उम्मेदवार उमेशकुमार पौडेल भने ८३२ मतका साथ दोस्रो स्थानमा छन् । एमालेबाट नगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार विमला खड्लुक ८७१ मतका साथ अग्र स्थानमा छिन् । कांग्रेसकी लीलमति विक ६४५ मतका साथ दोस्रो स्थानमा छिन् ।

मतगणनाको सुरुवाती क्षणमा वीरेन्द्रनगर नगरपालिकामा कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार उपेन्द्रबहादुर खड्काले अग्रता लिइरहेका थिए । अहिले भने एमालेबाट नगरप्रमुख पदकी उम्मेदवार मोहनमाया भण्डारी र कांग्रेसका उम्मेदवार खड्काको समान मत छ । उनीहरु दुवैले दुई हजार ९२५ मत ल्याएका छन् । 

वीरेन्द्रनगरको उपप्रमुख पदमा भने एमालेले अग्रता लिइरहेको छ । एमालेका उम्मेदवार नीलकण्ठ खनाल दुई हजार ८५१ मतका साथ अग्र स्थानमा छन् । माओवादी केन्द्रकी शान्ति ढकाल भने दुई हजार १५३ मतका साथ दोस्रो स्थानमा छिन् ।

  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २१:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया