धनुषाको दुई पालिकामा मतगणना स्थगित, धनौजी तनावग्रस्त

धनुषाको दुई पालिकामा मतगणना स्थगित भएको छ । जिल्लाको धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा खसेको मतभन्दा बढी मतपत्र बाहिरिएपछि दुवै पालिकामा मतगणना स्थगित भएको हो ।  

धनौजी गाउँपालिकामा मतदानको दिन मतदाताहरूले मत खसालेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला पर्दा विवाद उत्पन्न भएको बताइएको छ । 

धनौजीस्थित मतगणना स्थल बाहिर विवादले उग्ररूप लिएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन हवाइ फायरसमेत गरेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि २५ राउण्ड हवाइ फायर र एक राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

मतगणना स्थललाई सामान्य बनाउनका लागि अहिले धनौजीमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए । निर्वाचन अधिकृत पोषराज खनालले मतपेटिकामा भनिएको भन्दा १५ वटा मतपत्र बढी फेला परेपछि उम्मेदवार तथा उनका प्रतिनिधिहरूले होहल्ला गरेको बताए । 

‘मतपेटिकामा खसेको भन्दा बढी मतपत्र फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहे पनि यसलाई वेवास्ता गरेपछि विवाद उत्पन्न भई मतगणना स्थगित भएको छ,’ खनालले भने । 



धनौजी गाउँपालिका–२ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मतपत्र मतपेटिकामा फेला परेको थियो । सो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार साह १ हजार ५१४ मतसहित शीर्ष स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका जिवेन्द्र झा १ हजार मत सहित दोस्रो स्थानमा छन् ।

सो पालिकामा लोसपा, एमालेसहितका दलहरू आन्दोलित भएका छन् । स्थानीयका अनुसार मतगणना स्थलबाहिर पनि मतपत्रहरू फालिएको अवस्थामा फेला परेको छ । यता, नगराइन नगरपालिकामा पनि लोसपा, एमाले लगायतका दलले पुनः मतगणनाको माग गरेपछि मतगणना स्थगित भएको छ । 



मतपेटिकामा रहेको अन्य दलको हकमा आएको सदर मतलाई पनि बदर गरिएको, कांग्रेसको बदर मतलाई समेत सदर गरिएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरिएको हो । लोसपाको नगरप्रमुखका उम्मेदवार राजु चौधरीसहित ११ जना प्रतिनिधिले मतगणना स्थगित गर्नुपर्ने माग गरेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत सुदीपकुमार दंगालले जानकारी दिए ।

  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १२:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया