विराटनगरमा मतान्तर बढाउँदै काेइराला, एमालेका थापा २२ सय मतले पछाडि

मोरङको विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार रहेका नेपाली कांग्रेसका नागेश कोइरालाले लगातार मतान्तर बढाउँदै लगेका छन् । केही बेरअघि सार्बजनिक मत परिणामअनुसार उनले ८४७० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापा ६२४१ मतसहित पछ्याइरहेका छन् । कोइराला र थापाबीच २ हजार २२३ मतको अन्तर छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले २४९० मत ल्याउँदा राप्रापाका प्रह्लाद साहले १६०२ मत प्राप्त गरेका छन् । 

उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले फराकिलो मतान्तर बनाएकी छिन् । उनले ७१११ मत ल्याएकी छन् । जसपाका अमरेन्द्र यादवले ४६४५ मत प्राप्त गर्दै पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १५८४ मत ल्याउँदा राप्रपाकी विन्दा लुइँटेलले १९९१ मत ल्याएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म विराटनगरमा अहिलेसम्म १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार विराटनगर–१ को वडाअध्यक्षमा एमालेका काजिबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजन नेउपानेले १५९१ मत ल्याए । 

त्यस्तै विराटनगर–२ को वडाअध्यक्षमा पनि एमालेका कुमार पोखरेल निर्वाचित भएका छन् । उनले राप्रपाका उम्मेदवार पवनकुमार सुरनालाई पराजित गरे । पोखरेलले १३३४ मत ल्याएर विजयी हुदा सुरानाले १२८३ मत पाए । 

निवर्तमान वडाअध्यक्ष समेत रहेका पोखरेलले अघिल्लो स्थानिय तहको निर्वाचनमा पनि सुरनालाई हराएका थिए । विराटनगर–१६ नम्बर वडामा कांग्रेसका उद्धव भूजेलले ७५२ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार हमर्जनले ६८५ मत ल्याए । 



विराटनगर–१७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर–१९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाअध्यक्षमा विजयी भए । जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका असलम आलमले ९४५ मत ल्याए । कमरले प्रतिस्पर्धी आलमलाई ५ सय ५ मत अन्तरले पछि पारेका हुन् । 

विराटनगर–१९ मा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदय राजबंशीले ९०५ मत पाए । विराटनगर–१८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह विजयी भएका छन् । 



उनी ७१६ मतका साथ वडाध्यक्षमा विजयी भए । जसपाले टिकट नदिएपछि साहले स्वतन्त्रबाट ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए । 

  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार ११:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया