वैदेशिक रोजगार विभागमा टर्कीबाट फर्किएका कामदारको उजुरीका चाङ

काठमाडौं– प्रशस्त पैसा कमाउने र सुखी जीवन बिताउने सपना बोकेर एक वर्षअघि टर्की पुगेका बलबहादुर क्षेत्रीको सपना अधुरै रह्यो । 

आफूलाई टर्की पठाउने म्यानपावर कम्पनीविरुद्ध उजुरी दर्ता गर्न वैदेशिक रोजगार विभाग आएका क्षेत्रीलाई अहिले विदेश जाँदा लागेको ऋण कसरी तिर्ने भन्ने पिरलो छ ।

खान–बस्नसहित मासिक पाँच सय युरो तलब पाउने कुरा सुनेपछि उनी खोटाङबाट इटहरीको स्विफ्ट गोर्खा इन्टरनेसनल झरेका थिए । 

टर्की जान करिब तीन लाख रुपैयाँ लाग्ने थाहा पाएपछि उनले टर्की जाने सोच पनि त्यागेका थिए । तर, म्यानपावर कम्पनीले युरोपको पिआर र पाँच सय युरोको लोभ देखाएपछि ऋण गरेरै भए पनि टर्की जाने निधो गरेको क्षेत्रीले सुनाए ।  

गाउँमा ऋण गरेर उनले दुई लाख ७५ हजार जोहो गरेर काठमाडौंस्थित युरो नेपाल म्यानपावर कम्पनीलाई बुझाए । यही कम्पनीले उनलाई दुई वर्षको श्रम स्वीकृतीसहित युरोप पुर्यायो ।

तलब र सेवा शुल्कका नाममा ठगी 



क्षेत्री र उनीसँग गएका अन्य ५१ जना कामदारसँग टर्की पुगेकै दिन सेवा शुल्क भन्दै म्यानपावर कम्पनीले २ सय ५० युरो माग्यो । क्षेत्री र उनीसँग गएका कसैले पनि म्यानपावर कम्पनीले माग गरेजति सेवा शुल्क बुझाउन नसकेपछि कम्पनीले तलबबाट काट्ने भन्दै उनीहरूलाई काममा खटायो ।
ठगीको अर्को शृंखला सुरु भयो तलबमा । मासिक पाँच सय युरो तलबमा सम्झौता गरेका उनीहरूले सम्झौताभन्दा थोरै तलब पाए । ‘पाँच सय युरो भनेर गएको तर तीन महिनासम्म मासिक दुई सय ७५ युरो मात्र दियो,’ क्षेत्रीले सुनाए ।

सम्झौताभन्दा कम तलब पाएको भनेर उनीहरूले गुनासो पनि गरे । तर, म्यानपावर कम्पनीले यस विषयमा कम्पनीसँग कुरा गर्ने भनी आश्वासन मात्र दियो । सम्झौताभन्दा कम तलबमा काम नगर्ने भन्दै क्षेत्री र अन्य कामदारले काम बन्द गरेपछि टर्कीको कम्पनीले पाँच सय युरो तलब दिने सम्झौता ग¥यो ।



श्रम सम्झौतामा ठगी

नेपालमा दुई वर्षको श्रम स्वीकृत र सम्झौता गरेर गएका क्षेत्रीलाई टर्कीको कम्पनीले एक वर्षमै कामबाट निकाल्यो । ‘दुई वर्षको सम्झौता गरेर गएका हामीलाई ११ महिनामै कामबाट निकाल्यो,’ क्षेत्रीले भने ।

किन ११ महिनामै कामबाट निकाल्यो भन्ने प्रश्नमा क्षेत्री भन्छन्, ‘टर्कीको कम्पनीले एक वर्षका लागि कामदार माग गरेको रहेछ,’ क्षेत्रीले भने, ‘नेपाली कम्पनीले भने हामीसँग दुई वर्षका लागि सम्झौता गरेको थियो ।’

म्यानपावर कम्पनीको ठगीको शृंखला यतिमै सकिँदैन । टर्कीको म्यानपावर कम्पनीले  फ्रि भिसा र फ्रि टिकट भनेर कामदार माग गरेको भए पनि नेपाली कम्पनीले भने कामदारसँग चर्को शुल्क लिएको थियो ।

सिधै युरो नेपाल कम्पनीसँग जोडिन पुगेकाहरूले एक लाख ५० हजार रुपैयाँ तिरेपनि एजेन्ट र अन्य म्यानपावरमार्फत युरो नेपालसम्म पुगेका कामदारले भने चार लाख रुपैयाँसम्म शुल्क तिर्नुपरेको सुनाउँछन् क्षेत्री । 

युरो नेपालविरुद्ध उजुरीका चाङ

नेपालबाट दुई चरणमा १२ सय ५० कामदार टर्की पठाएको युरो नेपाल म्यानपावरविरुद्ध अहिले वैदेशिक रोजगार विभागमा उजुरीका चाङ नै लागेको छ ।

विभागका अनुसार अहिलेसम्म युरो नेपालविरुद्ध एक सय २० भन्दा बढी उजुरी परिसकेको छ । युरो नेपालबाटै ठगिएको बताउने क्षेत्री टर्कीबाट कामदार फर्किने क्रम जारी रहेकाले उजुरी अझै बढ्ने बताउँछन् ।

विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले म्यानपावर कम्पनीलाई विभागको सम्पर्कमा आउन पत्राचार गरिसकिएको बताए । विभागले पहिलो चरणमा एक हप्ता, दोस्रो चरणमा तीन दिन र तेस्रो चरणमा २४ घण्टा अल्मिेटमसहितको सूचना जारी गर्ने बताएको छ ।

युरो नेपालविरुद्ध अत्यधिक उजुरी परेकै कारण विभागले सो कम्पनीको बैंक कारोबारसमेत रोक्का गरिसकेको छ । आइतबार थप २४ घण्टा समय दिँदा पनि कम्पनी विभागको सम्पर्कमा नआएमा कानुनी कारबाहीमा जाने बताउँछन् विभागका निर्देशक हरि ज्ञवाली ।
 

  • प्रकाशित मिति : पुस २२, २०७५ आइतबार १४:४८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया