केदारस्युँका गणेश सर, जसले बझाङमा जोगाए समाजवादीको साख

नौ महिनाअघि नेकपा एमालेबाट विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी पार्टीको जन्म भयो । ९ महिनामै चुनावी मैदानमा होमिनु नेकपा एकीकृत समाजवादी पार्टीलाई त्यति सहज थिएन । 

चुनावमा देशभर नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन भयो । नेकपा एमालेभित्र आफन्तवाद, अहमता र निरकुंशता रहेको आरोप लगाउने नेकपा एसले गठबन्धन गरेर पुरानो पार्टीलाई केही पाठ सिकाउन चाहन्थ्यो । तर, यो स्थानीय तह चुनावमा एकीकृत समाजवादीको सपना पूरा हुन सकेन । 

स्थानीय तह चुनावमा नेकपा एसलाई सोचेजस्तो साथ गठबन्धनमा आबद्ध दलहरुले नदिएको नेकपा एसका नेताहरु दाबी गर्छन् । बझाङको केदारस्युँ गाउँपालिकामा पनि नेकपा एसलाई गाउँपालिका अध्यक्ष भाग परेको थियो । गाउँपालिका अध्यक्षका उम्मेद्वार थिए, गणेश बोहरा । 

विगतमा शिक्षण पेसा परित्याग गरी थुप्रै राजनीतिक उतारचढाव भोग्दै केदारस्युँ ८ को वडाध्यक्षको ५ वर्षे कार्यकाल पनि बिताइसकेका बोहरालाई गाउँपालिका जित्न त्यति सहज थिएन । भेगीय, जातीयताका हिसाबमा राजनीति हुने यस पालिकामा यसपटक उनलाई नेकपा एमालेका गाउँपालिका अध्यक्ष उम्मेद्वार लोकेश भण्डारीसँग लडाइँ लड्नु थियो । 

गठबन्धन भए पनि मतदाता बाँडिने र मत बदर हुने डर बोहरामा थियो । तर, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा जेठ ५ गते सार्वजनिक हुँदा उनी प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले विजयी भए । नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १ हजार ९ सय १३ मतले पछि पार्दै बोहरा विजयी भएका हुन् ।

अध्यक्ष बोहराले ४ हजार ३२१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले २ हजार ४०८ मत पाएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशभर एकीकृत समाजवादीबाट जित्ने बोहरा दोस्रो पालिका प्रमुख हुन् । सुदूरपश्चिमका ९ जिल्लाका ७६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एकीकृत समाजवादीले दुई पालिका मात्रै जितेको हो । 



समाजवादीले कैलालीको घोडाघोडी नगरपालिकाबाट खाता खोलेको थियो। नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन् । रावतले १३ हजार १२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए । निर्वाचित गणेश बोहरा ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका शिवराज जोशीलाई ३ सय १५ मतले पछि पार्दै वडाध्यक्ष बनेका थिए ।

को हुन् गणेश बोहरा ?



बोहरा ०५० सालदेखि विद्यार्थी राजनीतिमा लागेका थिए । ०५६ सालमा बोहरा नेकपा मालेको संगठित सदस्य बने । त्यसै वर्ष उनी मालेसम्बद्ध अनेरास्ववियु कञ्चनपुर जिल्ला कमिटी सदस्य पनि बने । 

त्यसपछि ०६३ सालदेखि ०७४ सालसम्म कैलाश मावि लोतु केदारस्युँ ८ र भैरव माबि झोता केदारस्युँ ९ मा अध्यापन गराए । कम्युनिस्ट राजनीतिमा लागेका नेताहरुलाई समान्यतया ‘कमरेड’ सम्बोधन गर्ने गरिन्छ । तर, लामो समय अध्यापनमा विताएका गणेशलाई अधिकांशले गणेश सर सम्बोधन गर्छन् । 

बोहरा शिक्षक हुँदा पनि नेपाल राष्ट्रिय शिक्षक संगठनको आजीवन सदस्य बनेका थिए । ०७४ सालको स्थानीय तह चुनावमा बोहरा नेपाली कांग्रेसका शिवराज जोशीलाई पराजित गर्दै केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा विजयी भए । 

०७९ साल वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनमा उनी नेकपा एकीकृत समाजवादी तथा तीनदलीय गठबन्धनबाट केदारस्युँ गाउँपालिकाका लागि गाउँपालिका अध्यक्ष पदका प्रत्याशी बने । ०७९ साल जेठ ५ गते उनी गाउँपालिका अध्यक्षमा विजयी घोषणा भए ।

बोहराले अर्थशास्त्र विषयबाट एमए पास गरेका हुन् भने पाठ्यक्रम शैक्षणिक योजनाबाट एमएड पनि गरेका छन् । उनी शैक्षिक योग्यताका हिसाबले केदारस्युँका सबै जनप्रतिनिधिभन्दा अगाडि छन् ।

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २२:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया