काठमाडौं– संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । तर, अनुमानका आधारमा आफ्नो नाम जोडेर अनर्गल प्रचार गरिएको उनले बताएका छन् ।
यसअघि संसद्को लेखा समितिले बनाएको उपसमितिले वाइडबडी खरिदमा अनियमितता भएको र त्यसमा रवीन्द्र अधिकारीको पनि संलग्नता देखिएको भन्दै अन्य अधिकारीसहित अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।
उपसमितिले विमान खरिद गर्दा अन्तिम किस्ता भुक्तानी दिँदा रवीन्द्र अधिकारीले अनुमति दिनु हुँदैनथ्यो भन्ने तर्क गरेको थियो । अन्तिम किस्ता भुक्तानी अगाडि नै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाइसकेकाले सल्लाह नगरी रवीन्द्र अधिकारीले किस्ता भुक्तानी गरेको आरोप लागेको थियो ।
तर, सोमबार मन्त्रालयमा नै आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले यी सबै आरोपको खण्डन गरे । आइतबार पत्रकार सम्मेलनका आयोजना गरिएको सूचना बाहिरिए लगत्तै मन्त्री अधिकारीले राजीनामा दिन सक्ने अनुमान गरिएका थिए ।
पत्रकार सम्मेलनमा भने मन्त्री अधिकारीले पहिले आफ्नो मन्त्रालयले गरेका कामहरुबारे चर्चा सुरु गरे । अनि वाइडबडीको विषयमा प्रवेश गर्दै उनले सर्वोच्च अदालतको २७ मंसिर २०७४ को आदेशअनुसार आफूले किस्ता नरोकेको बताए ।
‘त्यो किस्ता रोकेको भए त्यसअघि दिइसकिएको ९ अर्ब पनि जोखिममा पथ्र्यो, त्यसको जिम्मेवारी कसले लिन्थ्यो ?’ अधिकारीले पत्रकार सम्मेलनमा प्रश्न गरे, ‘सर्वोच्चको आदेशअनुसार किस्ता रोक्न सक्ने आधार नभएकाले मैले किस्ता दिएँ । तर, अनुमान गरेर मेरो नाम जोडियो, अनर्गल प्रचार भयो ।’
लेखा समितिको उपसमितिले अनुमानका आधारमा आफ्नो नामलाई जोडेकोमा असन्तुष्ट हुँदै अधिकारीले भने, ‘पूर्वाग्रह राखेर र अनुमान गरेर मलाई अनियमिततामा मुछ्ने काम भयो ।’
अधिकारीले राजीनामा दिन सक्ने पूर्वानुमानबारे पनि बोले । उनले भने, ‘म यो विश्वास दिलाउन चाहन्छु कि म समस्याबाट भाग्दिनँ, समस्याबाट भागेर समाधान निस्कँदैन पनि ।’
याे पनि पढ्नुहाेस्:
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।