मेयर बन्न सांसद त्यागेका स्थापित र सुवेदीलाई मतान्तरको 'ग्याप' पुर्नै सकस

बागमती प्रदेशका प्रदेश सभाका दुई सांसदले राजीनामा दिएर महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेतर्फबाट उम्मेदवारी दर्ताका लागि केशव स्थापितले १४ वैशाखमा बागमती प्रदेशसभाको सचिवालयमा आएर सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा बुझाएका थिए ।

त्यस्तै, नेकपा एमालेबाट भरतपुर महानगरको मेयरका उम्मेदवार बनेका सुवेदीले ८ वैशाख बिहीबार प्रदेशसभाका सभामुख श्रेष्ठसमक्ष राजीनामा दिएका थिए । स्थापित र सुवेदीले प्रदेश सांसदबाट राजीनामा दिए स्थानीय तहमा आकांक्षा देखाएर मेयर चुनावी मैदानमा त होमिए, तर दुवै जना जारी मत गणनामा निकटतम प्रतिद्वन्द्वीमा सीमित छन् ।

पूर्वमन्त्रीसमेत रहेका स्थापित प्रदेश सांसद पदबाट राजीनामा दिएर मेयरमा निर्वाचित भएर काठमाडौंको विकास गर्ने सपना देखेका थिए । त्यति मात्रै होइन राजीनामा दिँदा प्रदेशसभाको सभाहलमा पत्रकारसँग आफ्नो जित सुनिश्चित रहेको प्रतिक्रिया दिएका स्थापितले पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहलाई भेटाउन पनि सकेका छैनन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा स्थापित १३ हजार मतले पछि छन् । पछिल्लो मत परिणाम अनुसार शाहले २८ हजार बढी मत ल्याउँदा स्थापितको १५ हजारभन्दा बढी मत छ । स्थापितको भन्दा झण्डै दोब्बर मतले अगाडि रहेका शाहलाई उनले पछ्याइरहेका त छन् । तर, भेट्न सकेका छैनन् । काठमाडौंमा अहिलेसम्म ७५ हजार बढी मत गणना भएको छ । यहाँ मत गणना जारी छ । ३२ वडा रहेको काठमाडौंमा ८ वटा वडाको मात्रै मतगणना सकिएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेतर्फका विद्या सुन्दर शाक्य निर्वाचित भएका थिए । काठमाडौंमा गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपरे पनि एमालेको जित हुने विश्वासका साथ मेयरमा उम्मेदवारी दिएका स्थापितभन्दा स्वतन्त्र चुनावचिह्न लौरोले झण्डै दोब्बर मतले अग्रता लिएपछि उनको मेयर बन्ने सपना यो पटकको निर्वाचनमा पूरा नहोला कि भन्ने चर्चा चल्न थालेको छ । स्थापित काठमाडौंको क्षेत्र नम्बर ६ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले तर्फका मेयरको उम्मेदवार सुवेदी पनि अहिले दोस्रो स्थानमा छन् । भरतपुरमा ७७ हजार ७७३ मत गणना सकिँदा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार रेनु दाहालको अग्रता कायम रहेको छ ।



मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३१ सय ८१ अग्रता बनाएकी छन् । दाहालले २१ हजार ६८६ मत प्राप्त गर्दा नेकपा (एमाले) का विजय सुवेदीले १८ हजार ५०२ मत प्राप्त गरेका छन् । ३ हजारभन्दा धेरै मतान्तर रहेको भरतपुर महानगरमा सुवेदीलाई मतान्तरको खाडल पुर्न हम्मेहम्मे पर्ने देखिन्छ ।

सुवेदी चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले चार वर्ष तीन महिना एक दिन बागमती प्रदेशसभा सदस्यका रूपमा काम गरेका थिए । उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकासमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । हाल बागमतीमा एमालेका ४१ जना मात्र प्रदेशसभा सदस्य रहेका छन् ।



  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १५:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया