हेटौंडाको मेयर बनिन् मीना लामा, को हुन् उनी ?

बागमती प्रदेशकाे एक मात्र उपमहानगरले महिला मेयर पाएकाे छ । बागमती प्रदेशकाे राजधानीसमेत रहेको हेटाैँडा उपमहानगरपालिकाले पहिलाे पटक महिला मेयरकाे रुपमा मीनाकुमारी लामालाई पाएकाे छ ।

यसअघि उपमेयर रहेकी लामा गठबन्धनकाे तर्फबाट मेयर पदमा निर्वाचित भएकी हुन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुर उपाध्यक्षसमेत रहेकी लामाले नेकपा एमालेका प्रभावशाली नेता एवं संविधानसभा सदस्य अनन्त प्रसाद पाैडेललाई पराजित गरेकी हुन् । 

यससँगै राप्रपका केन्द्रीय नेता दीपकबहादुर सिंह तेश्रो स्थानमा रहेका थिए । निकै नै प्रतिस्पर्धा रहेका निर्वाचनमा अन्तत: लामाले बाजी मारेकी हुन् ।

तात्कालीन एमालेमा राजनीति गरेकी लामा समाजवादी पार्टि निर्माण भएपश्चात् समाजवादी यात्रा तय गरेकी हुन् । ४६ वर्षीय लामा मेयरमा निर्वाचित हुँदा गठबन्धसहित महिला, जनजातिको समेत प्रतिनिधित्व भएकाेमा नगरले खुसियाली मनाइरहेकाे छ । समाचार तयार पार्दासम्म थाेरै मतगणना भने बाँकी नै रहेकाे छ ।

को हुन् मीना लामा ?

सत्तारुढ पाँच दलीय गठबन्धनबाट बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिको बागडोर समाल्न लागेकी लामा २०३३ साल पुष २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी हुन् । 



मीना शुक्रवीर लामा र सीतादेवी लामाको जेठी छोरी हुन् । बाल्यकाल साधारण रूपमा व्यतित गरेकी उनको राजनीतिक यात्रा २०४६ सालबाट सुरु भएको हो ।

विद्यार्थी जीवनमा नै राजनीतिमा प्रवेश गरेकी उनले हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयाबाट एसएलसी उत्तीर्ण गरिन् । त्यसपश्चात उनले अध्ययनका लागि मकवानपुर बहुमुखी क्याम्पस रोजिन् । 



मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरी उनले हरिखेतान बहुमुखी क्याम्पस वीरगंजबाट एलएलबी अध्ययन गरिन् ।

अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएकी लामाले अनेरास्ववियुबाट राजनीति सुरु गरेकी थिइन् । २०५२ सालमा उनले अनेरास्ववियु मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी पाएकी थिइन् । 

सोही क्रममा २०५४ असार १३ गते सामाजिक परम्परा अनुसार हेटौंडा–१, चाइना क्वाटरका व्यवसायी सुनकुमार लामासँग उनको विवाह भएको थियो । लामाको दुई सन्तान छन् ।
 
लामाले २०७१ सालमा एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इन्चार्जको जिम्मेवारी पाइन् भने २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव पनि भइन् । 

२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य हुँदै लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्षसमेत भइन् ।
 
लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखको रुपमा भारी मतले विजयी भइन् । 

उनी त्यतिबेला एमालेबाट उम्मेदवार थिइन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको थियो ।

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १९:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया