शैक्षिक संस्थामा आइतबार बिदा नदिने वीरेन्द्रनगरको निर्णय, विरोधमा शिक्षक-कर्मचारी
फाइल तस्वीर

वीरेन्द्रनगर नगरशिक्षा समितिले आइतबार विद्यालय सञ्चालन गर्ने निर्देशन गरेपछि वीरेन्द्रनगरको शिक्षा क्षेत्रमा अहिले यस विषय विवादमा तानिएको छ ।

२७ वैशाखमा गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै जेठ महिनादेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरिएको जनाएको थियो । 

शनिबार र आइतबार बिदा तथा अन्य दिनका लागि कार्यालय समय फेरबदल गर्दै बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्मका लागि कार्यालय समय कायम गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको नगरशिक्षा समितिको ३ जेठमा बैठक बसेको थियो । बैठकमा गृहमन्त्रालयले जारी गरेको सूचनाका विषयमा छलफल पनि भयो । 

तर, वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका विद्यालयमा सातामा दुई दिन बिदा नदिइ साविकबमोजिम नै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ । 

नगरशिक्षा समितिले सातामा एक दिन (शनिबार मात्र) बिदा गर्ने निर्णय गर्दै विद्यालय सञ्चालन गर्ने निर्देशन विद्यालयलाई पठाएपछि भने अहिले वीरेन्द्रनगरस्थित विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीले सो निर्णयको विरोध गरेका छन् ।



सातामा दुई दिन बसदा दिने सरकारले निर्णय गरे पनि वीरेन्द्रनगरमा भने सातामा ६ दिन विद्यालय सञ्चालन गर्नुपर्ने जनाइएपछि विद्यालयका शिक्षक–कर्मचारीमाथि हेपाह प्रवृत्ति गरिएको नेपाल विद्यालय कर्मचारी परिषद्, सुर्खेतका अध्यक्ष दोर्णजंङ्ग बुढाथोकीको आरोप छ । 

उनले भने, ‘निजामति कर्मचारीलाई भने सातामा बिदा दिने । विद्यालयमा कर्मचारीलाई भने बिदा नदिने निर्णय गर्नु नगरको मनोमानी हो । समन्वय नगरी मनोमानी रूपमा निर्णय गर्दा नगरशिक्षा समितिले वीरेन्द्रनगरमा जे गरे पनि हुन्छ भन्ने आशय जनाएको प्रष्ट हुन्छ ।’



सातामा दुई दिन बिदा दिने सरकारको निर्णय विद्यालयका लागि ढिला नै आएको देखिन्छ । सरकारको निर्णय आएको समयमा विद्यालयले आफ्ना वार्षिक कार्यायोजना बनाइसकेका हुन्छन् । हिँउदेबिदा, वर्षेबिदा, पाठ्भार सञ्चालन योजनाहरू यस समयमा बनिसकेका हुन्छन् ।

निजामति कर्मचारीका तुलनामा शिक्षक–कर्मचारीलाई हेपाह प्रवृत्तिले हेरिएको जनाउँदै अध्यक्ष बुढाथोकीले शिक्षक–कर्मचारीलाई सुविधामा वृद्धि गर्दै निर्णय गर्नुपर्ने बताउँछन् । 

उनले भने, ‘सातामा शनिबार मात्र विद्यालय बिदा गर्ने हो भने शिक्षक–कर्मचारीलाई घरबिदा, अतिरिक्त कार्यसमयको रकम थप लगायतका सुविधा थप गरिनुपर्छ ।’ 

नगरशिक्षा समितिको हालको निर्णयले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामान्य रूपमा लिएको र उनीहरूमाथि जे निर्णय गर्दा पनि हुन्छ भन्ने बुझाइ झल्काइएको अध्यक्ष बुढाक्षेत्रीको आरोप छ ।    

वीरेन्द्रनगर नगरपालिकाको स्थानीय राजपत्रमा नगरमा शैक्षिक गतिविधि सञ्चानार्थ नगरशिक्षा समितिको व्यवस्थापन गरिने उल्लेख छ । नगरपालिकाभित्र सञ्चालन हुने विद्यालय तथा शैक्षिक निकायको रेखखेद, समन्वय र व्यवस्थापन गर्ने कामका लागि नगरशिक्षा समितिको व्यवस्था गरिएको हो ।

समितिमा नगरप्रमुखको अध्यक्षतमा १३ सदस्यीय नगरशिक्षा समिति रहन्छ । जसमा नगरप्रमुख अध्यक्ष, नगर–उपप्रमुख उपाध्यक्ष र नगरपालिकाको शिक्षा शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ । 

समितिमा नगरले तोकेको शिक्षाका विषयगत समितिको संयोजक एक जना, नगरका वडा अध्यक्षहरू मध्येबाट एक जना, शिक्षक महासंघको प्रतिनिधि एक जना, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू मध्येबाट एक जना, समाजसेवी/चन्दादातामध्यबाट चार जना, शिक्षाविद् एक जना, सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रध्यानाध्यापक दुई जना र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था गरिएको छ ।   

नगरशिक्षा समितिमा शिक्षक महासंघ, विद्यालय व्यवस्थापन समिति, प्रध्यानाध्यापक लगायतको समूह सहभागी रहेको नगरशिक्षा समितिले वीरेन्द्रनगरमा सातामा एक दिन शनिबार मात्र बिदा दिने निर्णय गरेको हो । सो बैठकमा शिक्षक महासंघका वीरेन्द्रनगर शाखाका पदाधिकारी पनि उपस्थित थिए । तर, हाल सोही संस्था नै विरोधमा उत्रिएको छ ।

नेपाल शिक्षक महासंघको वीरेन्द्रनगर शाखा अध्यक्ष नगरशिक्षा समितिको बैठकमा उपस्थित थिए, सो निर्णय भएयता सह–अध्यक्ष र सचिवले विरोध जनाइरहेका छन् ।

वीरेन्द्रनगर नगरपालिकालाई पत्र लेख्दै उनीहरूले सातामा एक दिन मात्र बिदा गर्ने भन्ने निर्णयविरुद्ध नेपाल शिक्षक महासंघ वीरेन्द्रनगर समितिले आपत्ति जनाएको बताएका हुन् ।

यता, नेपाल शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्णबहादुर थापा भने विद्यालयमा दुई दिन बिदा दिँदा शैक्षिक गतिविधि जटिलतामा तर्फ जाने धारणा व्यक्त गर्छन् । सातामा दुई दिन बिदा दिएर विद्यालय सञ्चालन समय बढाउँदा विद्यार्थीमा चाप बढ्ने उनको भनाइ छ । 

वीरेन्द्नगरका सबै विद्यालयका विद्यार्थीलाई बिहान ९ः३० बजे विद्यालयमा उपस्थित गराएर ५ः३० बजेसम्म अध्ययन गराउँदा उनीहरूमा भार बढ्ने अध्यक्ष थापाको धारणा छ ।

सरकारले विद्यालयलाई यसअघि वार्षिक ५० दिन बिदा दिएको थियो । जस अन्तर्गत पाँच दिन विद्यालय व्यवस्थापन समितिले स्थानीय बिदा दिन पाउँथे, १५ दिन चाडपर्व बिदा दिन सकिन्थ्यो र बाँकी एक महिना भूगोलअनुसार हिँउदे तथा वर्षेबिदा दिनुपर्ने व्यवस्था थियो । तर, हाल सातामा दुई दिन विद्यालयमा बिदा दिएपछि भने वार्षिक एक महिना बिदा दिन सकिने व्यवस्था कटौती गर्ने सरकारको निर्णय छ ।

यता, वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा अधिकृत रामलाल आचार्य भने नगर समितिको निर्णय विवादमा आएपछि नगरले सम्बन्धित पक्षसँग छलफल अघि बढाउने योजनामा रहेको बताउँछन् । 

उनले भने, ‘नगरशिक्षा समितिले विद्यालयमा सातामा एक दिन मात्र बिदा गराउने निर्णय गरेको हो । सो निर्णयमा अहिले विद्यालयका शिक्षक तथा कर्मचारीका विभिन्न पेशागत संघ–संगठनले आपत्ति जनाएका छन् । यस विषयमा छलफलबाट चाँडै समस्याको समाधान हुने नै छ ।’

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १६:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया