गौशालामा माओवादीको किल्ला भत्कियो, यस्तो छ महोत्तरीका अरू १३ पालिकाको अवस्था

महोत्तरीको १५ मध्ये १३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म जिल्लाको एकडारा गाउँपालिका, औरही नगरपालिका, पिपरा गाउँपालिका, बर्दिबास नगरपालिका, बलबा नगरपालिका, मटिहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका, रामगोपालपुर नगरपालिका, लोहारपट्टी नगरपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र गौशाला नगरपालिकाको परिणाम सार्वजनिक भएको हो ।

जसमध्ये चारवटा पालिकामा लोसपा, चारमा जसपा, दुईमा कांग्रेस, एकमा एमाले, एकमा तमलोपा र एकमा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गरेका छन् । एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्षमा जसपाका दीप नारायण मण्डल ४ हजार ४९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका रामछविला साहले २ हजार ४११ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका विरजु महतो नुनियाले १ हजार ७२७ मत मात्र पाएका छन् ।

यस्तै, उपाध्यक्षमा पनि जसपाकी महजबी खातुन निर्वाचित भएकी छन् । उनले ४ हजार ६७१ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रौकसाना खातुनले २ हजार ७६ मत ल्याएकी हुन् ।



त्यस्तै, नेपाली कांग्रेसकी रामकली महासेठले १ हजार ५७६ मत मात्र पाउन सकेकी छन् । एकडारा गाउँपालिकाको ६ मध्ये ४ वडामा जसपा र २ मा लोसपाका उम्मेदवारहरु जितेका छन् ।

त्यस्तै, औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन् ।



मेयरमा लोसपाका प्रदिप कुमार खड्का ६ हजार ६७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिल कुमार यादवले ५ हजार ७४७ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका सरोज कुमार रायले ४५१ मत मात्र पाएका छन् ।

यस्तै, उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भएकी छन् । उनले ५ हजार ८०८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रेखा यादवले ५ हजार ६०५ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालेकी राधा कुमारी खतिवडाले ५२३ मत मात्र पाउन सकेकी छन् ।

औरही नगरपालिकाको ९ मध्ये ५ वडामा लोसपा र ४ वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।

पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

जसपाका उम्मेदवार रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका विक्रम चौधरीले २ हजार ५४७ मत मात्र ल्याएका छन् भने नेपाली कांग्रेसका राधा रमण मिश्रले १ हजार ६०३ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा जसपाकी वन्दना पाण्डेय निर्वाचित भएकी छन् । उनले ५ हजार ४० मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ मत ल्याएकी छन् ।

त्यस्तै, नेकपा एमालेकी ननु कुमारी दासले २ हजार ३४३, नेपाली कांग्रेसकी आशा कुमारी यादवले १ हजार ६३० मत प्राप्त गरेकी छन् ।

उता, बर्दिबास नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्री र उपमेयरमा तारादेवी निर्वाचित भएका छन् ।

क्षेत्री १४ हजार २१० मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका टेक बहादुर बलम्पाकीले ३ हजार ५२६ र नेपाली कांग्रेसका चिरंजीवी हमालले १ हजार २६३ मत ल्याएका छन् ।

उपमेयरमा स्वतन्त्र उम्मेदवार तारा देवी ९ हजार ७३६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कृष्ण माया गौतमले ८ हजार १८५, नेकपा एमालेकी दुर्गा कुमारी दहालले ४ हजार ८०३ र नेपाली कांग्रेसकी अमिना कुमारी महतोले १ हजार ७८५ मत प्राप्त गरेकी हुन् ।

त्यस्तै, बलबा नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा लोसपाका राम विजय महतो ५ हजार ७८३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कुमार यादवले ४ हजार ६७० मत पाएका छन् ।

त्यस्तै, जसपाका धिरेन्द्र प्रसाद यादवले २ हजार ३०९ मत मात्र पाएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रामदुलारी देवी निर्वाचित भएकी छन् । उनले ५ हजार १०८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रेखा कुमारीले ५ हजार ८१ मत ल्याएकी हुन् ।

त्यस्तै, जसपाकी भारती कुमारी साहले २ हजार ४९० मत मात्र पाउन सकेकी छन् ।

बलबा नगरपालिकाको ११ मध्ये ४ वडामा कांग्रेस, ३ वडामा जसपा, ३ मा लोसपा र एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु जितेका छन् ।

मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा हरिप्रसाद मण्डल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले ४ हजार ३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका मो. मुजिबुल रहमानले २ हजार ६७४ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका हेमचन्द्र यादवले १ हजार ८९७ र माओवादी केन्द्रका कमलेश मण्डलले १ हजार ४०१ मत पाएका छन् ।

उपमेयरमा पनि लोसपाकै मञ्जु देवी निर्वाचित भएकी छन् । उनले ३ हजार ८६४ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी जिवछी देवी यादवले २ हजार ७५१ मत ल्याएकी छन् ।

त्यस्तै, नेकपा एमालेकी रिता देवी नायकले १ हजार ६९८ र माओवादी केन्द्रकी कल्यानी देवी रायले १ हजार ५३६ मत पाएकी छन् ।

उता, मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

कांग्रेसका मोहन पाण्डे ५ हजार ८८४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र रायले ४ हजार ९२० मत ल्याएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसकै शकुन्तला देवी निर्वाचित भएकी छन् । उनले ५ हजार ७४५ मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी निर्मला कुमारी सिंह देवीले ४ हजार ८४२ मत ल्याएकी हुन् ।

महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टीका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका छन् ।

बुधबार सार्वजनिक मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिपकुमार पाण्डे निर्वाचित भएका हुन् । उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अजयजंग रायले २ हजार २०८ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान निर्वाचित भएकी छन् । उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्द्वी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन् ।

गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।

त्यस्तै, रामगोपालपुर नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा एमालेका राम दुलार साह ५ हजार ३४९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अशोक कुमार मण्डलले ३ हजार ५८६ मत पाएका छन् भने नेपाली कांग्रेसका रघुनाथ प्रसाद यादवले २ हजार ५३३ मत मात्र पाएका छन् ।

यस्तै उपमेयरमा पनि एमालेकै रिना देवी यादव निर्वाचित भएकी छन् । उनले ४ हजार २६३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा देवी कुशवाहाले ३ हजार ४०३ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी सीता देवी साहले ३ हजार २५१ मत पाएकी छन् ।

रामगोपालपुर नगरपालिकाको ९ मध्ये ४ मा माओवादी केन्द्र, ३ मा एमाले, १ मा कांग्रेस र १ मा लोसपाका उम्मेदवारहरु जितेका छन् ।

लोहारपट्टी नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा कांग्रेसका शैलेन्द्र कुमार यादव दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् । उनले ५ हजार ४२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामसुहाग यादवले ४ हजार ६७५ मत पाएका छन् ।

त्यस्तै, जसपा नेपालका गोविन्दा साहले २ हजार २० मत पाएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसकै सरिता शर्मा निर्वाचित भएकी छन् । उनले ५ हजार २८१ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी वहिदा खातुनले ४ हजार १४३ मत ल्याएकी हुन् ।

त्यस्तै, जसपाकी गीता देवीले २ हजार ४९ मत पाएकी छन् ।

उता, सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्षमा जसपाका राम नाथ यादव ३ हजार ८९३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तिम प्रसाद यादवले २ हजार ५८२ मत पाएका छन् ।

त्यस्तै, लोसपाका शेष अनवारुल हकले २ हजार १६९ मत मात्र पाएका छन् ।

यस्तै उपाध्यक्षमा पनि जसपाकै अनिता कुमारी निर्वाचित भएकी छन् । उनले ३ हजार २९५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उर्मिला देवी साहले २ हजार ६८२ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालेकी मिनाक्षी कुमारीले १ हजार ७३७ मत पाएकी छन् ।

सम्सी गाउँपालिकाको ७ मध्ये ३ मा कांग्रेस, १ मा स्वतन्त्र, २ मा जसपामा, १ मा माओवादी केन्द्रका उम्मेदवारहरु जितेका छन् ।

महोत्तरीको सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

अध्यक्षमा लोसपाका विशेश्वर प्रसाद यादव ४ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोखुल राय यादवले २ हजार ९८६ मत पाएका छन् ।

त्यस्तै, जसपाका राज कुमार यादवले २ हजार ६६४ मत मात्र पाएका छन् ।

यस्तै उपाध्यक्षमा लोसपाकी जहिदा खातुन निर्वाचित भएकी छन् । उनले ३ हजार २९८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजिता देवी यादवले ३ हजार २४३ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका दामोदर प्रसाद साहले ४ हजार ४४० मत मात्र पाउन सकेका छन् ।

सोनमा गाउँपालिकाको ८ मध्ये १ वडामा जसपा, ३ मा लोसपा, एकमा जनमत र ३ वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।

महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ ।

०७४ मा अत्यधिक बहुमत साथ मेयर उपमेयरसहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी नेपाल सफल भएका छन् ।

जसपाका दिपेन्द्र महतोले मेयरमा ८ हजार ७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५ हजार ६२७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा जसपाकी रेनु कुमारी महतोले ८ हजार ४५५ मत ल्याएर निर्वाचित भएकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी जनकदुलारी साहले ५ हजार ४९० मत प्राप्त गरिन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा माओवादीका शिवनाथ महतो मेयरमा निर्वाचित थिए ।

गौशाला नगरपालिका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहको गृहनगर हो ।

महोत्तरीको जलेश्वर र भंगहा नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ ।

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १९:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया