हमालसँग पराजितपछि वडको प्रतिक्रिया : धनगढीमा गठबन्धन थिएन, स्वतन्त्ररूपमा चुनाव लडेको हुँ

कैलालीको धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वडले आफ्नै पार्टी र गठबन्धनमा आवद्ध दलले साथ नदिएकाले दोस्रोपटक प्रमुखमा दोहोरिन नसकेको प्रतिक्रिया दिएका छन् ।

आज बिहान अन्तिम मतपरिणाम सार्वजनिकपछि प्रतिक्रिया दिँदै उनले नेपाली कांग्रेसबाटै पूर्ण साथ नपाएको र गठबन्धनमा जोडिएका दलहरूकै कारण आफू पराजित भएको बताएका हुन् । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका वडले आफूलाई बाहिरीरूपमा पार्टी र गठबन्धनको साथ देखिएको जस्तो भएपनि आफू स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेको पनि बताए । ‘म पार्टीबाट चुनाव लडे पनि स्वतन्त्र लडेको हुँ,’ वडले भने । 

त्यस्तै, उनले नवनिर्वाचित मेयर गोपाल हमाललाई आफूले सुरु गरेका कामलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् । वडले राम्रो काममा आफ्नो साथ सधैं रहने पनि बताए । ‘राम्रा कामलाई निरन्तरता दिनुहोला नराम्रा कामलाई सच्याएर जानुहोला, मेरो राम्रा काममा सहयोग रहने छ ।’ 

अघिल्लोपटक हमाललाई नै हराएर विजयी भएका वड यसपालि भने उनीसँग नै ११ हजार ४४८ मतान्तरले पराजित भए । वडले १४ हजार ८१७ मत प्राप्त गरे । 

उनलाई हराउँदै मेयरमा विजयी भएका हमालले २६ हजार ८६५ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा उनी वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए । 



त्यस्तै, यसपालि नेकपा एमालेबाट मेयर उम्मेदवार रहेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् । 

उनी १५ हजार ४७९ मतसहित उपमेयरमा निर्वाचित भएकी हुन् । रानाकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन् ।  



अधिकारी अघिल्लो निर्वाचनमा पनि उपमेयरमा पराजित भएकी थिइन् । त्यसबेला पनि उनी माओवादीबाटै चुनाव लडेकी थिइन् ।

त्यस्तै, यसपटक स्वतन्त्र उपमेयर उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत ल्याए । धनगढीको मतगणना आज बिहान सकिएको हो । आधिकारिक घोषणा भने केही समयपछि हुनेछ ।

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १२:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया