हिन्दू, मुस्लिम, क्रिस्चियन सबैको साझा पार्टी बनाउँछौँ – कमल थापा

काठमाडौं । हिन्दुवादी पार्टीको पहिचान बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सबै धर्म–सम्प्रदायसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् ।

सोमबार पार्टीको आदिवासी जनजाति विभागले आयोजना गरेकाे ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र आदिवासी जनजातिबीचको सम्बन्ध’ विषयक विचार गोष्ठीमा बोल्दै थापाले हिन्दू, बौद्ध, किराँत, मुस्लिम र क्रिस्चियन सबैको साझा पार्टीको रुपमा राप्रपालाई विकास गर्ने दाबी गरे । 

‘राप्रपाका विषयमा धेरै भ्रम र अफवाहहरु छन्, तिनलाई चिरेर अगाडि बढ्न आवश्यक छ,’ अध्यक्ष थापाले भने । राप्रपाले उठाएका विषयहरु देश र जनताको हितमा रहेको उनले दाबी गरे । सबै जाति, भाषा र धर्मको समुचित विकास नभई देशको समग्र विकास हुन नसक्ने उनको तर्क थियो । 

कार्यक्रममा बोल्दै पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सम्पूर्ण आदिवासी जनजातिको भाषा, लिपिको संरक्षण र संवद्र्धनमा राप्रपा सदैव सचेत एवं चनाखो रहेको बताए । सबै जातजाति, भाषाभाषी र धर्मावलम्बी अटाउन सक्ने एजेन्डा राप्रपाले अख्तियार गरेकाले निर्धक्क भई पार्टीको संगठन विस्तारमा लाग्न कार्यकर्तालाई उनले आग्रह गरे ।

आदिवासी जनजाति विभाग प्रमुख लालध्वज लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालाराम घर्तीमगर, प्रशिक्षण विभाग प्रमुख भुवन पाठक, मोहन लामालगायत नेताले सम्बोधन गरेका थिए ।





  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार १८:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया