सुमन शेखरको उर्दू गजल भारतको टी सिरिजबाट सार्वजनिक

गायक सुमन शेखर मानन्धरको स्वरमा सजिएको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ । मुख्यगरी मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषी पर्यटकलाई नेपालमा आकर्षित गर्ने अपेक्षा राखेको गीत निर्माणमा संलग्न टिमको धारणा छ । गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास गीतकार तथा संगीतकार इम्तियाज वफाले व्यक्त गरे ।
 
यसैगरि, गायक सुमन शेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको जानकारी गराए । कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइले आफूलाई उर्दू गीत–गजल र शायरीमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए । 

‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो । यो गीतले कम्तीमा पनि रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने हाम्रो अपेक्षा छ ,’ उनले भने, ‘भावनाको अभिव्यक्तिसँगै संगीतलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने लागेर हामीले यो गीत हिन्दी र उर्दूमा तयार गरेका हौँ ।’

उनको कुरामा सही थाप्दै निर्देशक जनकदीप पराजुलीले टी सिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराए । यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा उनले व्यक्त गरे । 

‘टी सिरिजजस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने । 

कार्यक्रममा गीतलाई शुभकामना दिन पुगेका वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मिहिनेतको प्रशंसा गरेका थिए । 



नीर शाहले आफू पनि गीत–संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखेका थिए ।
‘कसैलाई लाग्ला, हिन्दी गीतको किन यति चर्चा ? तर म भन्छु– हामी उनीहरूको मनमा बस्ने उनीहरूकै भाषा र शैली प्रयोग गरेर बस्ने हो । यस्तो गर्दा कसैले अराष्ट्रिय भन्छ कि भन्ने पिर गर्नुपर्दैन,’ शाहको भनाइ थियो । 

यसैगरी कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिँदै विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले आफू मौलिकताको पक्षधर भए पनि प्राविधिक रुपमा बलियो गीत तयार गरेकोले यसले दीर्घकालीन रुपमा नेपाली कलाकार र प्राविधिकलाई फाइदा पुर्याउने विश्वास व्यक्त गरे । 



सञ्जीव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने गीतमा सम्पादन तथा भिएफएक्स धुव्रराज पराजुलीको रहेको छ । 

  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १८:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया